पर्यटक भिषामा आएर क्रिश्चियन मिशनको स्वास्थ्य शिविर, अस्पतालका नाममा धर्म प्रचार गर्ने १० विदेशी पक्राउ

पर्यटक भिषामा आएर क्रिश्चियन मिशनको स्वास्थ्य शिविर, अस्पतालका नाममा धर्म प्रचार गर्ने १० विदेशी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ- पर्यटक भिसामा नेपाल आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीबाट १० जना विदेशी नागरिकको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ।

बरगाछीमा ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाको संलग्नतामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा विदेशी चिकित्सकसहित १० जना विदेशी नागरिक सहभागी भएको पाइएको हो।

विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूका राहदानी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको जनाइएको छ।

गत कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी शिविर सुरु गरिएको थियो। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको गृहमन्त्रालयले जनाएको छ।

अस्पताल बनाउने भनिएको जग्गामा क्रिश्चियन धार्मिक गतिविधि गरिएको खुलेको छ। उनीहरूले स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पनि धार्मिक गतिविधि सञ्चालन गर्दै आएका थिए।

बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने उद्देश्यले तीन कट्ठा जग्गामा छवटा साना–ठूला भवन निर्माण गरेको जनाइएको छ।

ती भवनमा हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रम सञ्चालन हुँदै आएको विषयमा विवाद उत्पन्न भएपछि स्थानीयलाई खुसी पार्ने उद्देश्यले श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको विवरणमा उल्लेख छ।

उक्त स्थानमा यसअघि पास्टर बाङ्देलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएको र हाल दुईजना पास्टर तथा केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको जनाइएको छ।

‘मर्सी डेभलपमेन्ट’ संस्थाको गतिविधि र स्वास्थ्य शिविर सञ्चालनको उद्देश्यबारे भने सम्बन्धित निकायको विस्तृत आधिकारिक धारणा सार्वजनिक भएको छैन।

तीन देशका नागरिक सहभागी शिविरमा ब्राजिलका तीन, क्यानडाका दुई र अमेरिकाका पाँच गरी १० जना विदेशी नागरिक सहभागी भएका थिए ।

उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको अध्यागन विभागले जनाएको छ।

आवश्यक अनुमति नलिई पर्यटक भिसामा स्वास्थ्य शिविर सञ्चालनमा संलग्न भएको आरोपमा उनीहरूको कागजात अध्यागमन विभाग पठाइएको हो।