काठमाण्डु- विचौलिया बनेर सन्दिग्नध गतविधि गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासहितका प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित विवरण सञ्चारमाध्यममा सार्वजनिक भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाण्डुले आपत्ति जनाएको छ।
परिसरले बिहीबार अनुसन्धानसँग सम्बन्धित विषयहरू सूचनाको स्रोत संकेत गरी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाले उक्त मुद्दाको अनुसन्धान प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार गोप्य रूपमा भइरहेको उल्लेख गरेका छन्।
‘संवेदनशील विषयका विवरण, प्रमाण, सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध गराइएको छैन,’ उनले अगाडि भनेका छन्।
प्रहरीले अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ।
अनुसन्धानसँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै त्यस्ता विवरणको आधिकारिकता पुष्टि गर्न पनि परिसरले आग्रह गरेको छ।
अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना नगरेको अवस्थामा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत उनले दिएका छन्।
इनमसमेत प्रतिवादी रहेको उक्त मुद्दामा अनुसन्धान भइरहेका बेला विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीलाई लिएर प्रहरीले सार्वजनिक रूपमा आफ्नो धारणा राखेको हो।
बुधबार र बिहीबार विभिन्न सञ्चारमाध्यममा इनमसँग जोडिएको भन्दै सुरक्षा अधिकारी र प्रधानन्यायाधीश समेतको भूमिकामाथि प्रश्न उठाउँदै समाचार प्रकाशित गरेका थिए ।
प्रहरीले अनुसन्धानको गोपनीयता कायम राख्नुपर्नेमा जोड दिँदै मुद्दासँग सम्बन्धित विवरण प्रकाशन गर्नुअघि त्यसको आधिकारिकता पुष्टि गर्न पनि सञ्चारमाध्यमलाई आग्रह गरेको छ।


प्रतिक्रिया