न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने काम गरेको छैन, अनुसन्धानमा पूर्ण सहयोग गर्छु : न्यायाधीश फुयाल

न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने काम गरेको छैन, अनुसन्धानमा पूर्ण सहयोग गर्छु : न्यायाधीश फुयाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले विचौलिया भनिएका इनम सापकोटासँग आफूलाई जोडेर सार्वजनिक भएका विवरण तथा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउका छन् ।

बिहीबार वक्तव्य जारी गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सुशासनयुक्त न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताएका हुन् ।

फुयालले पछिल्लो समय न्यायक्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसङ्गतिको गलत फाइदा उठाएर गरिएका कार्य राज्यको जानकारीमा आएको र त्यसबारे अनुसन्धान भइरहेको उल्लेख गर्दै न्यायिक विचलनसम्बन्धी अनुसन्धानमा पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

‘न्यायपालिका र आफ्ना सम्बन्धमा सार्वजनिक भएका विवरण र समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको र नेपालको न्यायिक विचलनका सम्बन्धमा भइरहेको एक महत्वपूर्ण अनुसन्धानप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु।’ उनले विज्ञप्तिमा भनेका छन् ।

आफ्नो सम्बन्धमा सार्वजनिक भएका तथ्य तथा समाचारलाई न्यायक्षेत्रमा देखिएको अस्थिरता र असुरक्षाको समग्र परिस्थितिबाट अलग गरेर नहेर्न आग्रह गर्दै उनले न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला तथा आमसञ्चार माध्यमलाई यस विषयमा ध्यान दिन अनुरोध गरेका छन् ।

उनले आफूवाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य नभएको उल्लेख गरेका छन् ।

‘मेरो बारेमा आएका तथ्य र समाचारलाई देश र न्यायक्षेत्रको अस्थिरता र असुरक्षाभन्दा बाहिरबाट नहेर्न म समग्र न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आम सञ्चार माध्यमलाई अनुरोध गर्दछु। मबाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य भएको छैन। न्यायिक विचलन ल्याउने कार्य अनुसन्धानको प्रक्रियामा रहेको छ। यस परिस्थितिमा मप्रति सिर्जना गरिएको भ्रम, अर्धसत्य र चलिरहेको अनुसन्धानलाई प्रभाव पार्ने गरी भएका कार्यमा दुःख व्यक्त गर्दछु। म सम्पूर्ण न्यायकर्मी मित्रहरूलाई न्यायपालिकाप्रतिको विश्वासलाई थप कायम राख्न हार्दिक अनुरोध गर्दछु।’उनले भनेका छन् ।