काठमाण्डु- सञ्चारगृहबाट पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारिएको छ।
प्रधानमन्त्री कार्यालयको तर्फबाट प्रेस सल्लाहकार दीपा दाहालले सार्वजनिक गरिएको स्पष्टीकरणमा घटनाबारे पूर्वजानकारीसमेत नभएको उल्लेख गरेकी छन्।
स्पष्टीकरणमा उनले भनेकी छन्, ‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत प्राप्त नभएको स्पष्ट पारिन्छ।’
घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको उनले बताएकी छन्।
शुक्रबार नेपाल प्रेसका संवाददाता विश्वमणि सुवेदीलाई प्रहरीले समाचार कक्षबाटै पक्राउ गरेको थियो। त्यस्तै, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पनि कार्यालयबाट नियन्त्रणमा लिइएको थियो।
नयाँ पत्रिका दैनिकका संवाददाता नवराज मैनालीलाई लैजान प्रहरी टोली कार्यालय पुगेको थियो भने दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई पनि उजुरी परेको भन्दै फोन गरिएको थियो। नेपाल प्रेसका अध्यक्ष बिन्दुराज लम्साललाई समेत साइबर ब्युरोले कार्यालयमा उपस्थित हुन फोन गरेको थियो।
पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेशको घटनाप्रति विभिन्न राजनीतिक दलका नेता, पत्रकार तथा नागरिक अगुवाले आपत्ति जनाएका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र नेता नैनसिंह महरले पनि घटनाको विरोध गर्दै पक्राउ परेका पत्रकारलाई रिहा गर्न तथा सञ्चारगृहमा हस्तक्षेप बन्द गर्न माग गरेका थिए।
प्रधानमन्त्री कार्यालयको पछिल्लो स्पष्टीकरणले पत्रकार पक्राउको घटनाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गरेको छ।


प्रतिक्रिया