काठमाण्डु– प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० बढी कन्टेनर भन्सार जाँचपास तथा मालसामान ढुवानीका लागि थन्किएका छन् । ती कन्टेनर दसैँपछि बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै चिनियाँ मालवस्तु ढुवानी गर्न कोरला नाका क्षेत्र पुगेका हुन् ।
कोरला नाका क्षेत्र समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा छ । यसैगरी कोरलास्थित मुस्ताङ भन्सार कार्यालय, क्वारेन्टाइन, सशस्त्र प्रहरीको बीओपी र इलाका प्रहरी कार्यालय समुन्द्री सतहको करिब चार हजार मिटर बढी उचाइ छ ।
बुधबार लोमान्थाङ गाउँपालिकाले सार्वजनिक सूचना प्रेषण गरी बिहीबारदेखि कोरला नाका तथा आसपासका क्षेत्रमा सवारी आवागमन तथा त्यस क्षेत्रमा नजान पर्यटक तथा सर्वसाधारणलाई सूचित गरिसकेको छ ।
लोमान्थाङले कोरला नाका तथा आसपासका क्षेत्रमा हिमपात, आँधी, हिमपहिरो लगायतको जोखिम हुने सम्भावनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस प्रकारको सूचना जारी गरेको हो ।
मुस्ताङमा बिहीबार मध्यरातिदेखि निरन्तर मध्यम प्रकारको वर्षा भइरहेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा नियमित वर्षा भइरहेको छ भने कोरला नाका क्षेत्रमा मध्यम हिमपात भइरहेको छ ।
मुस्ताङमा मध्यम वर्षासँगै चिसो अत्यधिक बढिरहेको छ । उपल्लो मुस्ताङमा तापक्रम घटेर माइनस १२ डिग्री सम्म पुगेको छ ।
नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) का अनुसार आज बिहानदेखि उपल्लो मुस्ताङ र कोरला नाका क्षेत्रको मौसम प्रतिकूल बन्दै गएको छ । त्यहाँका बीओपी इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार उपल्लो मुस्ताङमा बिहीबार बिहानदेखि मध्यम वर्षा भइरहेको छ । निरन्तरकोे वर्षाका कारण उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको भए पनि कोरला नाका सडकको आवागमनमा समस्या नपरेको इञ्चार्ज धितालले बताए ।
कोरला नाका क्षेत्रको उच्च लेकमा हिमपात भइरहेको भए पनि कोरलानाकाको दशगजा क्षेत्रमा आंशिक मात्रै हिमपात भएको छ । मौसम प्रतिकूलता हुने पूर्व सूचना भएकाले बीओपी चेकपोस्टबाट कोरला नाकामा नजान पर्यटक तथा सर्वसाधारणलाई सुझाइएको भए पनि आवागमन पूर्ण रुपमा बन्द नभएको उनले बताए ।
कोरला नाका र लोमान्थाङ–४ न्हेचुङ भन्सार यार्डमा ५०० भन्दा बढी कन्टेनर र दुई हजार ५०० बढी विद्युतीय सवारीसाधन भन्सार जाँचपास तथा मालवस्तु लोड गर्न रोकिएका इञ्चार्ज धिमालले जानकारी दिए ।
हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै आजदेखि कोरला नाकास्थित सीमापारी चीनतर्फ रहेको नेपाली हाटबजार दुई दिनका लागि बन्द गरिएको छ ।


प्रतिक्रिया