काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वर्षा, सम्भावित हावाहुरी र त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरणका लागि सबै पक्षसँग अभूतपूर्व सहकार्यको अपिल गरेका छन्।
उनले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै नेपाल प्रहरी आफ्नो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा क्रियाशील रहने बताएका छन्।
नागरिकलाई सही समयमा सही सूचना प्रवाह गरी सम्भावित क्षति न्यूनीकरण गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।
सञ्चारकर्मीलाई सम्बोधन गर्दै आईजीपी कार्कीले संवेदनशील परिस्थितिमा निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङ गर्न आग्रह गरेका छन्।
उनले समाचार संकलन र सम्प्रेषणका क्रममा सञ्चारकर्मीलाई कुनै पनि प्रकारको बाधा अवरोध नहोस् भन्नेमा नेपाल प्रहरी प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्।
‘सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छु,’ कार्कीले भनेका छन्।
शुक्रबार मात्रै सञ्चार गृहमै छिरेर चारजना पत्रकार पक्राउ गरेको प्रकरणले विवादमा परेपछि आईजीपीको यो भनाइ आएको हो ।
उनले विपद्को जोखिम न्यूनीकरण र नागरिकको सुरक्षाका लागि प्रहरी, सञ्चारमाध्यम र आमनागरिकबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।



प्रतिक्रिया