बेलायती प्रधानमन्त्री दासत्वको माफी माग्नका लागि तयार, क्षतिपूर्ति दिने कुरा अस्वीकार

बेलायती प्रधानमन्त्री दासत्वको माफी माग्नका लागि तयार, क्षतिपूर्ति दिने कुरा अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– प्रधानमन्त्री एन्डी बर्नह्यामले शनिबार बेलायतले ट्रान्सएट्लान्टिक दास व्यापारमा खेलेको भूमिकाका लागि औपचारिक माफी माग्न आफु तयार रहेको बताएका छन् । उनले उक्त भूमिकाका लागि आफूले राज्यका तर्फबाट माफी माग्न तयार रहेपनि आर्थिक क्षतिपूर्ति दिन भने अस्वीकार गरेका छन् ।

लेबर पार्टीका नेता बर्नह्यामले एन्टिगुआ र बारबुडामा हुने कमनवेल्थका नेताहरूको सम्मेलनमा सहभागी हुनुअघि यो टिप्पणी गरेका हुन् ।

यतिबेला राजा चार्ल्स तृतीय क्यारिबियाली भ्रमणमा रहेका छन् । “म लाखौँ मानिसको पीडा र दुःखप्रति आफ्नो दुःख र पश्चात्ताप व्यक्त गर्न चाहन्छु र यसले आजसम्म हाम्रो संसारलाई कसरी आकार दिएको छ भन्ने कुरा स्वीकार गर्न चाहन्छु,” बर्नह्यामले गार्जियन पत्रिकामा प्रकाशित एक लेखमा उल्लेख गरेका छन् ।

बेलायती प्रधानमन्त्रीले आफ्नो सरकार प्रभावित पक्षसँग ‘संरचित संवाद’ चाहन्छ भनेका छन् ।

उनले भने, “बेलायती राज्यको तर्फबाट औपचारिक माफीको माग सुन्नु यस प्रक्रियाको महत्त्वपूर्ण भाग हुनेछ र म त्यसप्रति खुला छु।”

राजा चार्ल्सले नोभेम्बर १ देखि ४ सम्म चल्ने कमनवेल्थ सम्मेलनलाई सम्बोधन गर्ने छन् । बेलायतको दासत्व र पूर्व उपनिवेशहरूमा मानिसहरूप्रतिको व्यवहारले ७७ वर्षीय राजाको क्यारिबिया क्षेत्रको भ्रमणमा छायाँ पारेको छ । मङ्गलबार बहामासमा राजा चाल्र्सले भ्रमणको पहिलो चरणमा दासप्रथालाई ‘विगतको ठूलो पीडा’ मानिएको स्वीकार गरेका थिए ।

बेलायतले शताब्दीयौँदेखि उपनिवेशवाद र दास व्यापारबाट फाइदा उठाएको थियो। सन् १८३३ मा संसद्ले दासत्व उन्मूलन गर्ने कानून पारित गरेको थियो ।