काठमाण्डु– उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सडक सुरक्षा, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण तथा पैदलयात्रीको सुरक्षाका लागि ट्राफिक प्रहरी अहोरात्र खटिरहेको बताएका छन् ।
आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै काफ्लेले यस्तो बताएका हुन् ।
उनले ट्राफिक प्रहरी कर्मचारीले सेवामा प्रवेश गर्दा लिएको शपथअनुसार देश र नागरिकको सेवामा प्रतिबद्ध भएर काम गर्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत रिसिवी नराखी निष्पक्ष र जिम्मेवार ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिए।
उनले राज्यले दिएको सेवा-सुविधामा चित्त नबुझ्नेले जागिर छाड्न सक्ने तर बर्दीको दुरुपयोग गरी अनियमितता गर्नेलाई कुनै छुट नहुने स्पष्ट पारे।
‘हामीलाई आर्थिक अनियमितताको आरोप लाग्नुजति दुःखद कुरा अरू केही हुँदैन,राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ। चित्त बुझ्दैन भने अन्य क्षेत्रमा जाने विकल्प खुला छ, तर नियमविपरीत काम गर्ने कसैले पनि उन्मुक्ति पाउँदैन।’ उनले भने ।
साथै, आर्थिक अनियमिततामा शून्य सहनशीलता अपनाउनुपर्ने र सरकारबाट प्राप्त सेवा सुविधाप्रति असन्तुष्टि भए वैकल्पिक बाटो रोज्न सकिने उनको भनाइ थियो ।
प्रमुख काफ्लेले सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा दुर्घटनामुक्त यातायात प्रणाली विकासका लागि जनचेतनामूलक कार्यक्रम र अन्तरक्रियालाई निरन्तरता दिइएको जानकारी दिए ।
कार्यक्रममा सहभागीले सवारी दुर्घटना कम गर्नका लागि चालक, पैदलयात्रीलगायत सबै सडक प्रयोगकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत ५०६ ट्राफिक प्रहरी अधिकृत तथा कर्मचारीको सहभागिता रहेको थियो ।


प्रतिक्रिया