काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। सोमबार सिंहदरबारमा बसेको बैठकमा संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले यसबारे जानकारी दिएका हुन् ।
‘प्रस्तावित राजदूत थापाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भयो, म नाम फिर्ता लिन्छु भनेर मौखिक जानकारी दिइसक्नु भएको छ। लिखित पत्र आउन बाँकी छ’, बैठकमा सभापति श्रेष्ठले भने ।
अब थापाले लिखित रुपमा नाम फिर्ता लिएको पत्र दिएसँगै समितिले जापानका लागि अर्को उम्मेदवार खोज्न सरकारका लागि ढोका खोलिदिनेछ । यसअघि असोज २ मा थापासहित १३ देशका लागि सरकारले राजदूत प्रस्तावित गरेको थियो ।
जसमा असोज २८ गते दुई देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत हुँदा थापालाई होल्डमा राखिएको थियो । थापाले जापानको पीआर फिर्ता गरेको प्रमाण पेश गर्न नसकेसँगै राजदूतबाट फिर्ता हुनु परेको हो ।
अपडेट
प्रस्तावित राजदूत थापाले आफूले नाम फिर्ता लिएको पत्र संसदीय सुनुवाइ समितिमा पठाएका छन्। उक्त पत्र समितिका सभापति श्रेष्ठले पढेर सुनाएका छन्। पत्रमा थापाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन गएकाले आफूले नाम फिर्ता लिएको बताएका छन्।
थापाको नामबारे अन्तिम निर्णयका लागि सभापति बोधनारायण श्रेष्ठले डाकेको बैठकमा फिर्ताका लागि पत्र आएको हो।
जापानको पीआरधारी थापालाई यसअघि गत असोज २८ गते संसदीय सुनुवाइ समितिले होल्डमा राखिदिएको थियो । उनले पीआर त्यागेको विवरण नल्याएसम्म संसदीय समिति अनुमोदन नगर्ने पक्षमा थियो।
तर उनले आजसम्म आफ्नो र श्रीमतीकोसमेत पीआर त्यागेको कुनै किसिमको कागजात पेश गर्न सकेका थिएनन्। उता सभामुख डीपी अर्यालले कुनै हालतमा थापाको नाम अनुमोदन गर्न दबाब दिएका थिए।
तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह भने थापाको नाम अनुमोदनको विपक्षमा छन्। उनीहरूले थापाको नाम अस्वीकृत गर्न निर्देशन दिएका थिए।
यसअघि असोज २८ गते बसेको सुनुवाइ समितिको बैठकले दुईजनाको नाम अस्वीकृत गर्दा थापाको नाम होल्डमा राखेको थियो । सरकारले असोज २ गते १३ जनालाई राजदूतका रुपमा नियुक्त गर्न प्रस्तावित गरेको थियो । जसमा १० जनाको नाम अनुमोदन भइसकेको छ।


प्रतिक्रिया