बेइजिङ- विद्युतीय सवारीसाधनका लागि विश्वकै ठूलो ब्याट्री उत्पादकमध्ये चीनको कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी ९सीएटीएल० अब हवाईजहाजका लागि समेत ब्याट्री उत्पादन गर्ने तयारीमा जुटेको छ।
कम्पनीले साना विमानमा लिथियम ब्याट्री प्रयोगसम्बन्धी परीक्षण सफलतापूर्वक गरिसकेको छ। आगामी दिनमा हवाईजहाजमा समेत ब्याट्री प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्यसहित कम्पनीले अनुसन्धान र परीक्षणलाई अघि बढाएको छ।
केही समयअघि कम्पनीको भ्रमणका क्रममा यससम्बन्धी प्राविधिक विकास र भविष्यको योजनाबारे जानकारी प्राप्त भएको थियो। विद्युतीय सवारीसाधनमा स्थापित ब्याट्री प्रविधिलाई हवाई यातायातमा विस्तार गर्ने कम्पनीको योजना ऊर्जा क्षेत्रको अर्को महत्त्वपूर्ण सम्भावनाका रूपमा हेरिएको छ।
सन् २०११ मा स्थापना भएको सीएटीएल चीनको फुजियान प्रान्तस्थित निङ्देमा मुख्यालय रहेको कम्पनी हो। यसले विद्युतीय सवारीसाधनका लागि पावर ब्याट्री, ऊर्जा भण्डारण प्रणाली तथा नयाँ ऊर्जा प्रविधिको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ।
विश्व बजारमा विद्युतीय सवारीसाधनका लागि ब्याट्री उत्पादन तथा आपूर्तिमा कम्पनीले अग्रणी स्थान कायम गरेको छ।
एसएनई रिसर्चका अनुसार सन् २०२५ मा विश्वव्यापी पावर ब्याट्री जडान बजारमा सीएटीएलको हिस्सा ३९।२ प्रतिशत थियो। लगातार नौ वर्षदेखि कम्पनी विश्वको पहिलो स्थानमा रहँदै आएको छ।
त्यस्तै, ऊर्जा भण्डारण ब्याट्रीको विश्वव्यापी आपूर्तिमा सन् २०२५ मा कम्पनीको बजार हिस्सा ३०।४ प्रतिशत पुगेको थियो। यस क्षेत्रमा पनि लगातार पाँच वर्षदेखि कम्पनी पहिलो स्थानमा रहेको दाबी गरिएको छ।
सन् २०२५ को अन्त्यसम्म कम्पनीको सञ्चालनमा रहेको कुल उत्पादन क्षमता ७७२ गिगावाट आवर ९जीडब्लूएच० पुगेको थियो।
थप ३२१ गिगावाट आवर क्षमताका उत्पादन केन्द्र निर्माणाधीन थिए। चीनबाहेक हंगेरीलगायत विभिन्न देशमा उत्पादन केन्द्र विस्तार गरेर कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बढाइरहेको छ।
सन् २०२६ मा पनि बजारमा अग्रता
सन् २०२६ मा पनि सीएटीएलले विश्वव्यापी ब्याट्री बजारमा आफ्नो अग्रता कायम राखेको कम्पनीले उपलब्ध गराएको विवरणमा उल्लेख छ।
एसएनई रिसर्चका अनुसार सन् २०२६ को जनवरीदेखि अगस्टसम्म विश्वव्यापी पावर ब्याट्री जडान बजारमा कम्पनीको हिस्सा ३९।४ प्रतिशत थियो।
जनवरीदेखि मेसम्म यो हिस्सा ४०।२ प्रतिशत रहेको थियो। चीनको आन्तरिक बजारमा जनवरीदेखि सेप्टेम्बरसम्म कम्पनीको बजार हिस्सा ४४।१६ प्रतिशत पुगेको थियो।
त्यस्तै, सन् २०२६ को पहिलो आठ महिनामा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति विस्तार भएको छ। जनवरीदेखि मेसम्म विदेशी बजारमा पावर ब्याट्रीको हिस्सा ३३।७ प्रतिशत पुगेको विवरणमा उल्लेख छ।
ऊर्जा भण्डारण ब्याट्रीको आपूर्तिमा पनि कम्पनी सन् २०२६ को पहिलो छ महिनामा विश्वकै ठूलो आपूर्तिकर्ता बनेको थियो।
उत्पादन क्षमतातर्फ कम्पनीले सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिसम्म वार्षिक आधारमा १ हजार ५० गिगावाट आवर ब्याट्री उत्पादन क्षमता सञ्चालनमा ल्याएको जनाएको छ।
उक्त अवधिमा उत्पादन क्षमता उपयोग दर ९४।८६ प्रतिशत थियो। थप ७६४ गिगावाट आवर क्षमताका उत्पादन केन्द्र निर्माणाधीन अवस्थामा थिए।
युरोपेली बजारलाई लक्षित गर्दै हंगेरीको डेब्रेसेनस्थित कारखानाले सन् २०२६ को सेप्टेम्बरदेखि परीक्षण उत्पादन सुरु गरेको छ। उक्त कारखानाको वार्षिक उत्पादन क्षमता १०० गिगावाट आवर रहनेछ।
आम्दानी र नाफामा पनि वृद्धि
सीएटीएलको आर्थिक विवरणअनुसार सन् २०२६ को पहिलो छ महिनामा कम्पनीको आम्दानी २७६।९२ अर्ब चिनियाँ युआन पुगेको थियो।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५४।८ प्रतिशत बढी हो। त्यस्तै, खुद नाफा ४३।२८ अर्ब युआन पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४१।९८ प्रतिशत बढी हो।
सन् २०२६ को पहिलो नौ महिनामा कम्पनीको आम्दानी ४४२।१४ अर्ब युआन र खुद नाफा ६४।५३ अर्ब युआन पुगेको विवरणमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा आम्दानी ५६।१९ प्रतिशत र खुद नाफा ३१।६ प्रतिशतले बढेको थियो।
कम्पनीको व्यवसाय विस्तारमा ऊर्जा भण्डारण क्षेत्रको योगदान पनि बढ्दै गएको छ। सन् २०२६ मा ऊर्जा भण्डारण ब्याट्रीको बिक्री अघिल्लो वर्षको तुलनामा करिब ६० प्रतिशतले बढेको र कुल ब्याट्री बिक्रीमा यसको हिस्सा झन्डै २५ प्रतिशत पुगेको कम्पनीको विवरणमा उल्लेख छ।
सीएटीएलले फास्ट चार्जिङ प्रविधि, सोडियम आयन ब्याट्री, ब्याट्री स्वापिङ प्रणाली तथा दोहोरो ऊर्जा आपूर्ति प्रणालीजस्ता प्रविधिमा समेत अनुसन्धान गरिरहेको छ।
विद्युतीय सवारीसाधन, ऊर्जा भण्डारण र अब हवाई यातायातसम्म ब्याट्री प्रविधि विस्तार गर्ने कम्पनीको योजनाले भविष्यमा यातायात क्षेत्रको विद्युतीकरणलाई थप गति दिन सक्ने देखिएको छ।



प्रतिक्रिया