अडियो प्रकरणपछि गगनको जवाफ : ‘तपाईंको सभापति कमजोर नैतिक धरातलमा उभिएको छैन’

अडियो प्रकरणपछि गगनको जवाफ : ‘तपाईंको सभापति कमजोर नैतिक धरातलमा उभिएको छैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको बताएका छन्।

इनम सापकोटाले नाम जोडेर सार्वजनिक भएको अडियो प्रकरणलाई लिएर आफूविरुद्ध विभिन्न भाष्य निर्माण गरेर प्रहार गर्न खोजिएको भन्दै उनले त्यसबाट आफू नडराउने र सरकारलाई प्रश्न गर्न नछाड्ने स्पष्ट पारेका छन्।

अडियो प्रकरणपछि आफ्नो धारणा सार्वजनिक गर्दै थापाले आफू स्वच्छ रहेको दाबी गरे। उनले आफ्नो हातमा कुनै दाग नरहेको र मन सफा भएकै कारण आफूले सत्तासँग लड्ने आँट गरेको बताए।

‘ढुक्क हुनुहोस्, म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,’ उनले भने, ‘मेरो हातमा दाग छैन। मेरो मन सफा छ। नत्र मलाई कसरी यसरी लड्ने आँट आउँथ्यो?’

अडियो प्रकरणबारे कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार नै पार्टीको धारणा स्पष्ट पारेको उल्लेख गर्दै थापाले त्यसका दुई मुख्य सार रहेको बताए। उनका अनुसार पहिलो, यो बदनियतका साथ चलाइएको हल्ला हो। दोस्रो, नेपाली कांग्रेस र पार्टी नेतृत्व सबै किसिमका अनुसन्धानका लागि तयार छन्।

प्रहरी हिरासतमा रहेका फिक्सर इनम सापकोटासँग जोडिएको अडियोमा आफ्नो नाम सुनिएको स्वीकार गर्दै थापाले त्यसमा आफूले बोलेको हो वा आफ्नो नाम लिएर अरूले बोलेको हो भन्ने स्पष्ट नभएको बताए।

उनले भने, ‘फिक्सर इनम सापकोटा प्रहरी अनुसन्धानका लागि हिरासतमा छन्। त्यो अडियोमा मेराबारे कुरा सुनिएको छ। त्यो अडियोमा बोलिएको हो कि बोलाइएको हो, थाहा छैन। यसका भित्रका कुरा खुल्दै जालान्।’

उनले इनम सापकोटाबारे सरकारलाई प्रश्न गर्नुपर्ने बताए। अनुसन्धान निष्पक्ष र सही ढंगले अघि बढे त्यसको परिणाम स्वीकार गर्न कांग्रेस तयार रहेको उनको भनाइ छ।

‘नेपाली कांग्रेसको वर्तमान नेतृत्व भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जगमा आएको हो। नेपाली कांग्रेसको नेतृत्वका लागि एक सुका लेनदेन पनि भएको छैन। हामी प्रस्ट छौँ,’ थापाले भने।

अडियो सार्वजनिक भएपछि पार्टीका नेताहरूले विभिन्न व्यक्तिसँग भेटघाट गर्न थालेको विषयलाई पनि उनले अस्वीकार गरेका छन्। मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने भएकाले त्यसैका लागि भेटघाट भएको उनको स्पष्टीकरण छ।

‘अडियो बाहिरिएपछि पार्टीका नेताहरू भेट्न थालिएको भनिएको छ। म तर्सिँदै तर्सिन्नँ। मधेसमा नेपाली कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्नेछ। त्यसका लागि भेटेको हो। त्यो सकियो,’ उनले भने।

थापाले वर्तमान सरकार पाँच वर्षका लागि आएको भन्दै सरकारको प्राथमिकता बाढीपीडितको पुनर्स्थापना र अर्थतन्त्र सम्हाल्ने हुनुपर्ने बताए। तर सरकार ती विषयमा केन्द्रित हुनुभन्दा लोकतान्त्रिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने दिशामा अघि बढेको उनको आरोप छ।

सरकारमाथि प्रश्न गर्दा त्यसलाई अर्कै भाष्यमा प्रस्तुत गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए। ‘यो सरकार पाँच वर्षका लागि आएको हो। यो सरकारको केन्द्र बाढीपीडितको पुनर्स्थापना र अर्थतन्त्र सम्हाल्नेतिर हुनुपर्ने थियो। यसलाई सम्हाल्ने कसरी हो, त्यता ध्यान दिनुपर्ने थियो,’ उनले भने।

उनले थपे, ‘लोकतान्त्रिक अधिकारलाई खुम्च्याउने र हाम्रो बोल्न पाउने स्वतन्त्रतामा सरकारले अंकुश लगाउन खोज्दैछ। हामीले सरकारलाई प्रश्न गर्दा एउटा न्यारेटिभ बनाउन खोजिँदैछ। हामी सरकारमाथि प्रतिवाद गर्न तयार छौँ।’

आफूले विगतमा आफ्नै सरकारका गलत काममाथि पनि प्रश्न उठाएको स्मरण गराउँदै थापाले अहिले पनि बोल्न नछाड्ने बताए। बलियो सत्तासँग लड्दा आफूविरुद्ध विभिन्न भाष्य निर्माण गरेर प्रहार गरिएको उनको भनाइ छ।

‘मेरो मोरल स्ट्रेन्थ हाई छ। म सफा छु, म स्वच्छ छु। म ठीक ठाउँमा उभिएको छु। गगन थापा चुकेको छैन। तपाईं मेरोबारेमा जिम्मा लिएर भन्न सक्नुहुन्छ, गगन थापाबाट कुनै गलत काम भएको छैन,’ उनले भने, ‘आफ्नो ड्युटी गर्दै जाने हो। म बोल्न छोड्दिनँ।’

प्रश्न गर्ने अधिकार लोकतन्त्रको आधार भएको उल्लेख गर्दै उनले प्रश्न गर्न नदिने अवस्था आए लोकतन्त्र नै कमजोर हुने चेतावनी दिए।

‘हाम्रै सरकारबारे त मैले बोल्न छाडिनँ, अहिले किन बोल्न छाड्ने? प्रश्न मर्‍यो भने प्रजातन्त्र बच्दैन। अहिलेको अवस्थामा प्रश्न मर्न दिनु हुँदैन,’ थापाले भने।

उनले अडियो प्रकरणमा आफूलाई लक्षित गरेर प्रश्न उठाउनेभन्दा सम्बन्धित विषयमा सम्बन्धित निकायसँग सही प्रश्न गर्न पनि आग्रह गरे। ‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ,’ उनले भने।