विराटनगर किंग्स ८३ रनमै अलआउट

विराटनगर किंग्स ८३ रनमै अलआउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाण्डु गोर्खाजले सानदार बलिङ प्रदर्शन गर्दै विराटनगर किंग्सलाई ८३ रनमै अलआउट गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९।३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटिएको हो ।

विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । एन्जेलो म्याथ्युजले ३१ बलमा २२ रन जोड्दा बसिर अहमदले १० रन बनाए । यी तीन खेलाडीबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शेहान जायसूर्या ५, लोकेश बम ६, आन्द्रे रसेल ३ र अपराजित पौडेल २ रनमा आउट भए । इमरान शेख, नारायण जोशी र शुभम रन्जानेले खाता खोल्न सकेनन् । कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

विराटनगरले पहिलो विकेटका लागि शेहान जायसूर्या र लोकेश बमबाट ११ रनको साझेदारी गरेको थियो । त्यसपछि लगातार विकेट गुमाएको विराटनगरले ३५ रन जोड्दा सात विकेट गुमाइसकेको थियो ।

आठौँ विकेटका लागि एन्जेलो म्याथ्युज र रुपेश सिंहले ४० बलमा ३९ रनको साझेदारी गर्दै टोलीको इनिङ्स केही सम्हाले । उक्त साझेदारी नै विराटनगरका लागि सबैभन्दा ठूलो साझेदारी बन्यो ।

काठमाण्डुका लागि युवा बलर सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गरे । उनले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सहान अराचिगेले २ ओभरमा ७ रन दिँदै २ विकेट हात पारे ।

त्यस्तै जहानदान खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कप्तान करण केसी, शाहब आलम र देव शाहले समान १ विकेट लिए ।