मोदीको सन्देश बोकेर आएका मिस्रीसँग बालेनले गरे खेलकुददेखि रेलमार्गसम्मका कुरा

मोदीको सन्देश बोकेर आएका मिस्रीसँग बालेनले गरे खेलकुददेखि रेलमार्गसम्मका कुरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाहसँग बिहीबार बिहान भेटवार्ता गरेका छन्।

बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण, नेपाल-भारत द्विपक्षीय सहकार्य, विपद् व्यवस्थापन, ऊर्जा, व्यापार तथा पारवहनलगायतका विषयमा छलफल भएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले हालै रसुवा-भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि भारत सरकारले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे।

बाढीपछि भारतले तत्काल राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोलीसमेत परिचालन गरेको पनि उनले बताए ।

प्रधानमन्त्री शाहले विपद्का बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत सहयोग र ऐक्यबद्धता व्यक्त गरेकोमा पनि धन्यवाद दिएका थिए।

त्यसैगरी, प्रधानमन्त्रीले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग सहकार्य गर्न सकिने सम्भावनाबारे चासो राखेका थिए।

भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई सफल बनाउन भारतले तयारी तीव्र पारेको जानकारी गराएका थिए।

उनले भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउँदै शाहको भारत भ्रमणका लागि आवश्यक तयारी भइरहेको बताएका थिए।

मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार तथा पारवहन र उड्डयन क्षेत्रसँग सम्बन्धित नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि प्रधानमन्त्रीलाई गराएका थिए।

भेटको महत्त्वपूर्ण विषयका रूपमा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनको तयारीबारे पनि छलफल भएको छ।

मिस्रीले उक्त रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी प्रधानमन्त्री शाहलाई गराएका थिए। उनका अनुसार बिहीबार नै अयोध्या–जनकपुर रेलमार्गमा रेल परीक्षणसमेत गरिएको छ।

नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको अयोध्या–जनकपुर रेलमार्ग सञ्चालनको विषय लामो समयदेखि चर्चामा रहँदै आएको छ।

यो रेलमार्ग सञ्चालनमा आएमा भारतको अयोध्या र नेपालको जनकपुरबीच धार्मिक पर्यटकको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

भारतीय विदेश सचिव मिस्री बुधबार नेपाल आएका हुन्। उनको भ्रमणका क्रममा प्रधानमन्त्री शाहसहित परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र सचिव अमृतबहादुर राईलगायतसँग भेटवार्ता भएको छ।

भ्रमणलाई प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारी र दुई देशबीचको सम्बन्धलाई थप अघि बढाउने अवसरका रूपमा हेरिएको छ।