काठमाण्डु- भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाहलाई स्वागत गर्न आफूहरू आतुर रहेको बताएका छन्। प्रधानमन्त्री शाहसँग बिहीबार सिंहदरबारमा भएको भेटमा मिस्रीले भारत भ्रमणको तयारी र दुई देशबीचका प्रमुख मुद्दाबारे छलफल गर्दै यस्तो बताएका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी चासो र प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मिस्री नेतृत्वको भारतीय प्रतिनिधिमण्डल बिहान ११ बजे प्रधानमन्त्रीसँग भेटवार्ताका लागि सिंहदरबार पुगेको थियो। प्रधानमन्त्री शाहसँग करिब आधा घण्टा भएको छलफल मुख्यतः उनको भारत भ्रमणसँग सम्बन्धित विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए।
‘खासगरी प्रधानमन्त्रीको भारत भ्रमणसँग सम्बन्धित विषयमै केन्द्रित रहेर कुराकानी भयो। त्यहाँ उठाउनुपर्ने एजेन्डा र दुई देशबीचका प्रमुख मुद्दाका विषयमा केही छलफल भएको छ’, सचिवालयका ती सदस्यले भने।
भ्रमणको विस्तृत तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको उनले बताएका छन्। त्यसैले भेटमा लामो एजेन्डामा छलफल नभए पनि केही महत्त्वपूर्ण विषय, नेपाल भ्रमणका क्रममा मिस्रीले पाएको अनुभव र दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो।
‘मिस्रीले प्रधानमन्त्रीज्यूलाई भारतमा स्वागत गर्न आतुर रहेको जानकारी दिनुभयो। प्रधानमन्त्रीले पनि आफू भारत भ्रमणका लागि तयारी गरिरहेको बताउनुभयो’, सचिवालयका ती सदस्यले भने।
भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाहको भारत भ्रमणको वातावरण र त्यसको तयारीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई गत चैत १३ गते नै भारत भ्रमणको निम्तो पठाएका थिए।
मिस्री नेतृत्वको प्रतिनिधिमण्डलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव एवम् चीन, नेपाल र भुटान हेर्ने नर्थ डिभिजन प्रमुख मन्नु महावर, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, दूतावासका डीसीएम डा. राकेश पाण्डे, प्रशासन शाखा प्रमुख अविनाश कुमार सिंह तथा राजनीतिक शाखा प्रमुख गीतान्जली ब्राण्डन सहभागी थिए।
प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि भारतीय टोली सिंहदरबारबाट सिधै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न मध्याह्न १२ बजे बूढानीलकण्ठस्थित उनको निवास इटालीटार पुगेको थियो। लामिछानेसँग भएको भेटवार्ताको विषयवस्तुबारे भने विस्तृत जानकारी सार्वजनिक भएको छैन।


प्रतिक्रिया