काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच छलफल भएको छ। शुक्रबार राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अर्यालले संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए।
राजनीतिक दलहरूसँगको परामर्शका क्रममा पनि संसद् सञ्चालन गर्नुपर्ने सुझाव आएको उनले राष्ट्रपतिलाई जानकारी गराएका थिए।
भेटका क्रममा संसदीय कूटनीति र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सहभागिताबारे पनि चर्चा भएको थियो। सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको उपलब्धिबारे पनि सभामुखले अवगत गराएका थिए।
संसदीय संरचनाबीच समन्वय र सहकार्य विस्तार गर्ने उद्देश्यसहित सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभाका पदाधिकारीसँग राष्ट्रपति र सभामुखको सामूहिक भेटघाट तथा छलफल आयोजना गर्ने योजनाबारे समेत जानकारी गराइएको सभामुखको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलले संसद्मा व्यापक बहस र छलफल हुनु लोकतन्त्रका लागि सकारात्मक पक्ष भएको बताएका थिए। संसद् जनताका आवाज, विचार र सरोकार व्यक्त हुने महत्वपूर्ण थलो भएकाले त्यहाँ हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउने उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले यस क्रममा सरकारले सञ्चालन गरिरहेका कामकारबाहीबारे समेत चासो व्यक्त गरेका थिए।
भेटमा संसद्को प्रभावकारी भूमिका, लोकतान्त्रिक अभ्यासको सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थालगायत विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।


प्रतिक्रिया