वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न शुभ–दीपावली (तिहार), छठलगायत चाडपर्व शान्तिपूर्ण, भद्र र सौहार्दपूर्ण वातावरणमा मनाउन अनुरोध गरेको छ ।
जिप्रकाले शुक्रबार शुभकामना व्यक्त गर्दै चाडपर्वलाई शान्तिपूर्ण, भद्र र सौहार्दपूर्ण वातावरणमा मनाउन, सार्वजनिक सुरक्षा एवं अमनचयन कायम राख्नका लागि स्थानीय प्रशासन ऐनलाई पूर्ण पालना गर्न /गराउन सबैमा अनुरोध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईंद्वारा जारी शुभकामना सन्देशमा चाडपर्व मनाउने वा मनोरञ्जन गर्ने बहानामा अन्य व्यक्ति, छिमेकी र सार्वजनिक जनजीवनलाई बाधा पुग्ने, असजिलो पार्ने वा शान्ति भंग हुने कुनै पनि क्रियाकलाप नगर्न अपिल गरिएको छ ।
जिप्रकाले भनेको छ, ‘सांस्कृतिक रूपमा खेलिने देउसी–भैलोलगायत परम्परागत कार्यक्रम राति ९:०० बजेसम्म मात्र सञ्चालन गरी कानुन र व्यवस्था कायम राख सहयोग गर्न सबै अनुरोध छ । जनस्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै तिहार र छठमा पटका, भुइँचम्पा, आतिसबाजी जस्ता खतरनाक र प्रज्वलनशील पदार्थको भण्डारण, बिक्री वितरण, ओसारपसार र प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ ।’
दीपावलीमा दीप प्रज्वलन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग हुने हुँदा, सर्ट सर्किट भई आगलागी हुन सक्ने जोखिमप्रति उच्च सतर्कता अपनाउन र कानुनद्वारा वर्जित गरिएका जुवा, तास, कौडा, लड्डरबुर्जा खेल्ने वा सट्टेबाजी जस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन भनिएको छ ।
सार्वजनिकस्थलमा मादकपदार्थ (रक्सी) सेवन गरी होहल्ला गर्ने, झगडा गर्ने वा समाजमा अशान्ति सिर्जना गर्ने कार्य पूर्ण रूपमा वर्जित भएको उल्लेख गर्दै सहायक प्रजिअ चापागाईंले चाडपर्वको मौका छोपी बजारमा अखाद्य वा म्याद गुज्रिएका वस्तुको बिक्री, कृत्रिम अभाव, मूल्य वृद्धि वा कालोबजारी गर्नेलाई कडा निगरानीमा राखिएको जनाए ।
यात्रुबाहक सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राख्न नहुने, तोकिएकोभन्दा बढी भाडा लिन नहुने र जोखिमपूर्ण यात्रा गर्न र गराउन नहुने सहायक प्रमुख जिल्ला अधिकारी चापागाईंको भनाइ छ । ‘शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने कुनै पनि शंकास्पद गतिविधि वा घटनाको जानकारी प्राप्त हुनासाथ तुरुन्तै नजिकको प्रहरी एकाइ वा प्रहरी कन्ट्रोल रुमको फोन नम्बर १०० मा सूचना दिनुहोला,’ उनले भने ।


प्रतिक्रिया