नेपथ्यको कन्सर्टमा झुम्यो चारआली

नेपथ्यको कन्सर्टमा झुम्यो चारआली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चारआली, झापा- लोकप्रिय नेपाली लोकरक ब्यान्ड नेपथ्यको कन्सर्टमा शनिबार झापाको चारआलीमा हजारौँ दर्शक सहभागी भएका छन्। कार्यक्रम सुरु हुनुभन्दा दुई घण्टाअघि नै सबै टिकट बिक्री भइसकेको आयोजकले जनाएको थियो।

चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा आयोजित कन्सर्टमा झापासहित पूर्वी नेपालका विभिन्न जिल्ला र छिमेकी भारतबाट समेत सङ्गीतप्रेमी आएका थिए। चारआली जेसीस र बज्र इभेन्टको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

गायक अमृत गुरुङ मञ्चमा उक्लिएसँगै दर्शकको उत्साह थप चुलिएको थियो। उनलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।

नेपथ्यले ‘रेशम’, ‘तालको पानी’, ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘जोमसोमे बजारमा’, ‘चरी मर्‍यो सिसैको गोलीले’, ‘लाम्पाते सुरती’, ‘आँगनैभरि’, ‘यो जिन्दगानी’, ‘जोगले हुन्छ भेट’, ‘सरुमारानी’ र ‘रातो र चन्द्र सूर्य’लगायत लोकप्रिय गीत प्रस्तुत गरेको थियो। गीतसँगै दर्शकले स्वर मिलाउँदा मैदानको माहोल थप सङ्गीतमय बनेको थियो।

विशेषगरी ‘रातो र चन्द्र सूर्य’ प्रस्तुत हुँदा हजारौँ दर्शकले एकैसाथ स्वर मिलाएका थिए। दर्शकको अत्यधिक भीडका कारण मञ्चको अग्रभाग व्यवस्थापन गर्न आयोजक र सुरक्षाकर्मीलाई कठिनाइ भएको थियो। गायक अमृत गुरुङले समेत दर्शकलाई पटक–पटक व्यवस्थित हुन आग्रह गर्नुपरेको थियो।

आयोजकका अनुसार चारआलीलाई सांगीतिक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको हो। यसअघि कार्यक्रमको प्रचारप्रसारका क्रममा धरानदेखि श्रीअन्तुसम्म १५५ वटा बुलेट मोटरसाइकल सहभागी र्‍यालीसमेत गरिएको थियो।

कन्सर्टले स्थानीय पर्यटन, होटल व्यवसाय, यातायात र व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको आयोजकले बताएका छन्।