कांग्रेस सहमहामन्त्री शिवाकोटीले मागे माफी, भ्रामक कुरा नलेख्ने लिखित कागज

कांग्रेस सहमहामन्त्री शिवाकोटीले मागे माफी, भ्रामक कुरा नलेख्ने लिखित कागज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले अबदेखि भ्रामक कुरा नलेख्ने लिखित कागज गरेका छन् ।

आईतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका उनले काठमाण्डुपाटी अनलाइनका सञ्चालक रोशन खड्काबारे लेखेको कुरामा लिखित माफी मागेका हुन् ।

उनले बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेसको सम्बन्धबारे लेखिएको समाचारलाई लिएर खड्कामाथि व्यक्तिगत रूपमा सामाजिक सञ्जालबाट लाञ्छित गरेका थिए ।

‘मैले उहाँलाई लक्षित गरेर, लाञ्छित गरेर कपोलकल्पित र भ्रामक कुरा लेखेर गल्ती गरेँ र मैले फेसबूकमा लेखेको त्यो कुरा सम्पादन गर्छु । सार्वजनिक रूपमा माफी माग्छु,’ उनले साइबर ब्युरोमा लिखित सहमतिमा भनेका छन्, ‘आगामी दिनमा यस्ता किसिमका टिका टिप्पणी गरेँ भने सजाय भोग्छु ।’

शिवाकोटीले फेसबूकमा पनि माफी मागेर लेख्छु भनेपछि लिखित सहमति र माफीपछि छाडिएको साइबर ब्युरोले जनाएको छ। ‘सामाजिक सञ्जालमा रोशन खड्कालाई मात्रै होइन, अरूबारे पनि म भ्रामक कुरा लेख्दिनँ’, उनले सहमतिमा भनेका छन्, ‘गलत लेखेको पोस्ट पनि फेसबूकबाट हटाउँछु ।’

साइबर ब्युरोले नेता शिवाकोटीलाई पत्रकार खड्काको उजुरीका आधारमा सोधपुछ गर्न बोलाएको थियो । यसअघि उनलाई गत साता नै साइबर ब्युरोले खोजेको थियो । उनले समाचारको विषयलाई लिएर व्यक्गित गालीगलौज र चरित्र हत्या गरेको उजुरी साइबर ब्युरोमा परेको थियो।

बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेससम्बन्धी समाचारलाई लिएर उनी व्यक्तिगत गाली गलौजमा उत्रिएका थिए । व्यक्तिको चरित्र हत्यासम्मको तहमा उत्रिएर फेसबुक पोस्ट लेखेपछि परेको उजुरीका आधारमा शिवाकोटीलाई यसअघि १९ कात्तिकमै साइबर ब्युरोले झिकाएको थियो ।

तर भारतबाट आएर पनि उनी साइबर ब्युरोमा हाजिर भएका थिएनन्। तर आइतबार उनले आफू साइबर ब्यूरोमा हाजिर हुन गएको बताएर हाजिर भएका हुन् । ‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि १ घण्टापछि साइबर ब्युरोमा पुग्दैछु। आजका सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु’, उनले भनेका थिए ।