इरानका कारण संकटमा ट्रम्प : युद्ध अन्त्य गर्ने उपाय खोज्न अर्को साता पुटिन र सीसँग भेट्दै

इरानका कारण संकटमा ट्रम्प : युद्ध अन्त्य गर्ने उपाय खोज्न अर्को साता पुटिन र सीसँग भेट्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सम्भावित भेटवार्ता गर्ने बताएका छन्।

भेट भएमा इरान युद्ध अन्त्य गर्ने उपाय र ‘परमाणु निःशस्त्रीकरण’ लगायतका विषयमा छलफल हुने उनले बताएका छन्।

नोभेम्बर १८–१९ मा चीनको शेनझेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको शिखर सम्मेलनमा पुटिन र सीसँग भेट्ने अपेक्षा गरेको ट्रम्पले आइतबार पत्रकारहरूलाई बताए।

‘म चीन जाँदैछु। मलाई लाग्छ, एउटा बैठक राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग हुनेछ। त्यो रोचक हुनेछ,’ ट्रम्पले भने, ‘हामी परमाणु निःशस्त्रीकरणसहित धेरै विषयमा कुरा गर्नेछौँ। इरान युद्ध अन्त्य गर्ने प्रयास पनि गरिरहेका छौँ।’

तीन नेताबीच भेटवार्ता भए ऐतिहासिक हुने भए पनि उनीहरूका स्वार्थ परस्पर बाझिएकाले ठोस सहमति हुन कठिन देखिएको विश्लेषकहरूको भनाइ छ। क्रेमलिनले अक्टोबर २१ मै यस्तो त्रिपक्षीय भेटको तयारी भइरहेको स्वीकार गरेको थियो।

यसअघि द वाल स्ट्रिट जर्नलले पुटिनले युक्रेनमा शान्ति सम्झौता गराउन तीन नेताबीच वार्ता चाहेको र त्यसबाट मस्कोको पक्षमा अनुकूल परिणाम खोजेको समाचार प्रकाशित गरेको थियो। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो।

स्टिमसन सेन्टरको चीन कार्यक्रमका निर्देशक सुन युनले भेट हुने सम्भावना रहेको तर यसको स्वरूप र विषयवस्तु अझै स्पष्ट नभएको बताए। ‘चीनलाई यसको छवि चाहिएको छ, तर त्यसको लागत बेहोर्न चाहँदैन,’ उनले भने।

पुटिनका लागि ‘कूटनीतिक सफलता’

अमेरिकामा ट्रम्पलाई चीन र रुसलगायतका अधिनायकवादी नेताहरूप्रति आकर्षित हुने गरेको भन्दै आलोचना हुँदै आएको छ।

पूर्वराष्ट्रपति बाराक ओबामाको प्रशासनमा विदेश मन्त्रालयका वरिष्ठ अधिकारी रहेका ड्यानी रसेलले त्रिपक्षीय भेटबाट पुटिनले सबैभन्दा बढी लाभ लिन सक्ने बताए। ‘रुस यस्तो भेटका लागि स्पष्ट रूपमा प्रयासरत छ। भेट भयो भने त्यो पुटिनका लागि कूटनीतिक सफलता हुनेछ,’ उनले भने।

रसेलका अनुसार अधिनायकवादी नेताहरूप्रति ट्रम्पको आकर्षणका कारण उनी यस्तो भेट चाहन्छन्। तर उनका सल्लाहकारहरूले छलफलमा युक्रेनको विषय नउठाउन उनलाई सचेत गराएको हुन सक्ने रसेलले बताए।

ट्रम्प यस वर्ष तेस्रोपटक सीसँग भेट्न शेनझेन जाने अपेक्षा गरिएको छ। त्यसबेला जनवरीमा सकिन लागेको कमजोर व्यापारिक युद्धविराम कायम रहने वा नरहने विषय पनि चर्चामा हुन सक्छ। चीनले अमेरिका र रुससहित २१ सदस्य रहेको एपेकको यस वर्षको नेताहरूको शिखर सम्मेलन आयोजना गर्दैछ।

पुटिनसँग भेट्ने ट्रम्पको इच्छाले युक्रेनमाथिको आक्रमणपछि रुसमाथि लगाइएको अन्तर्राष्ट्रिय अलगाव अन्त्य गर्ने प्रयासलाई पनि संकेत गर्ने विश्लेषण गरिएको छ।

फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीजका चीन कार्यक्रमका वरिष्ठ निर्देशक क्रेग सिंगलटनले सम्भावित भेटलाई पुटिनले अमेरिकी र चिनियाँ नेतासँगै देखिन पाउने फोटो अवसरका रूपमा व्याख्या गरे। तर यस्ता अवसरको कूटनीतिक प्रभाव घट्दै गएको उनको भनाइ छ।

‘दृश्य ऐतिहासिक हुन सक्छ, तर त्यसले विशेष महत्त्वको परिणाम नदिन पनि सक्छ,’ सिंगलटनले भने।