काठमाण्डु – ओमानमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जीतको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको हो ।
पाकिस्तानका लागि अहमद हुसेनले उत्कृष्ट ब्याटिङ गर्दै ७३ बलमा सर्वाधिक ८९ रनको योगफल बनाए । उनले ७ चौका र २ छक्का प्रहार गरे । कप्तान फरहान युसुफले ९५ बलमा ७४ रनको योगदान दिए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । हसनैन अब्बास दारले २५, जहाँगीर बिलालले २२ तथा उस्मान खानले १९ रन बनाए ।
नेपालका लागि बिपिन शर्माले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सुशील रावलले २ विकेट लिए भने सचिन भट्ट र अभय यादवले समान १–१ विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


प्रतिक्रिया