काठमाण्डु- भाइटीकाको दिन सशस्त्र प्रहरी बल, नेपालले बुधबार काठमाण्डु र भक्तपुरमा सर्वसाधारण यात्रुलाई सहज आवतजावतका लागि ३ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।
सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
निःशुल्क बस सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुलाई सेवा प्रदान गर्नेछ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क हुँदै विभिन्न ठाउँका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।\
यस्तै, प्रधान कार्यालय स्वयम्भुदेखि भक्तपुरसम्म चल्ने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानो ठिमी, पुरानो ठिमी, सल्लाघारी, लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी, स्वयम्भूसम्म सेवा दिनेछ ।
दशैँमा पनि सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।



प्रतिक्रिया