काठमाण्डु – इरानसँगको युद्धमा भूमिकालाई लिएर अमेरिकी रक्षामन्त्री पीट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रयास अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट तत्कालका लागि रोकिएको छ।
रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी तल्लो सदनले मंगलबार महाभियोग प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएको हो।
यो निर्णयसँगै हेगसेथविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रयास प्रभावकारी रूपमा रोकिएको छ।
रिपब्लिकन सांसद थोमस मेसीले हेगसेथको नेतृत्वमा सञ्चालित इरानविरुद्धको युद्ध तथा अन्य सैन्य कारबाहीलाई लिएर महाभियोग प्रस्ताव अघि सारेका थिए। तर मेसीबाहेक रिपब्लिकन पार्टीका सबै सांसदले प्रस्तावलाई समितिमा पठाउने पक्षमा मतदान गरे।
डेमोक्रेटिक सांसदहरूले भने यो निर्णयको आलोचना गरेका छन्। उनीहरूले हेगसेथलाई जिम्मेवार बनाउन र महाभियोग प्रक्रिया पुनः अघि बढाउनुपर्ने बताएका छन्।
डेमोक्रेटिक सांसद माइक क्विग्लीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफूले हेगसेथलाई महाभियोग लगाउने पक्षमा मतदान गरेको र प्रयास असफल भए पनि महाभियोग प्रक्रिया अघि बढ्ने दाबी गरेका छन्।
उनले यो प्रक्रिया भोलि वा आगामी जनवरीमा अघि बढ्न सक्ने बताएका छन्। यसैबीच, अमेरिकी रक्षा मन्त्रालय ९पेन्टागन० ले महाभियोग प्रयास रोकिएपछि यसलाई आफ्नो ‘पूर्ण विजय’ भनेको छ।
पेन्टागनका प्रवक्ता सिन पार्नेलले न्यायिक समितिमा प्रस्ताव पठाउने निर्णयलाई हेगसेथ, रक्षा मन्त्रालय र अमेरिकी सैनिकहरूको विजयका रूपमा व्याख्या गरेका छन्। उनले महाभियोग प्रयासलाई राजनीतिक उद्देश्यबाट प्रेरित भन्दै यसलाई समितिमै अन्त्य गरिने बताएका छन्।
अमेरिकी सिनेटमा रिपब्लिकन नेता जोन थुनले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको हेगसेथमाथि विश्वास कायम रहेको बताएका छन्। उनका अनुसार हेगसेथ राष्ट्रपतिको विश्वासमा रहेसम्म पदमा रहनेछन्।
महाभियोग प्रस्तावमाथिको मतदानमा ११ जना डेमोक्रेटिक सांसद अनुपस्थित भएका थिए। तीमध्ये सांसद जोनाथन ज्याक्सनले सडक दुर्घटनाका कारण भएको ट्राफिक जाम र प्रहरी सुरक्षासहितको बसका कारण आफू संसद् भवन पुग्न ढिलाइ भएको बताएका छन्।
उनले मतदान सकिएपछि महाभियोग रोक्ने प्रस्तावको विपक्षमा आफ्नो धारणा संसद्को आधिकारिक अभिलेखमा दर्ता गराएको बताएका छन्। तर त्यसले मतदानको आधिकारिक नतिजामा परिवर्तन ल्याएको छैन।
यसैबीच, इरानका संसद् सभामुख मोहम्मद बागेर गालिबाफले इजरायलले अमेरिकालाई इरानसँग अनन्त युद्धमा धकेल्न निरन्तर प्रयास गरिरहेको आरोप लगाएका छन्।
इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले पनि तेहरान र वासिङ्टनबीच वार्ता भइरहेको भन्ने समाचार अस्वीकार गरेका छन्।


प्रतिक्रिया