काठमाण्डु – बुल्गारियामा बाक्लो कुहिरोका कारण भएको भीषण सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।
मंगलबार राजधानी सोफियालाई कृष्णसागरको तटीय बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा सवारीसाधन एकापसमा ठोक्किएका हुन्। दुर्घटनापछि राजमार्गको दुवैतर्फको आवागमन बन्द गरिएको छ।
दुर्घटनाको खबर पाएपछि बुल्गारियाकी राष्ट्रपति इलियाना योतोभाले आफ्नो फ्रान्स भ्रमण बीचमै छाडेर स्वदेश फर्किने निर्णय गरेकी छन्। उनी पेरिस पिस फोरममा सहभागी हुन फ्रान्स पुगेकी थिइन्।
अधिकारीहरूका अनुसार दुर्घटना सुरुमा राजमार्गको पूर्वतर्फ जाने लेनमा भएको थियो। बाक्लो कुहिरोका कारण चालकहरूले अगाडि रहेका सवारीसाधन देख्न नसक्दा एकपछि अर्को गर्दै गाडीहरू ठोक्किएका थिए।
पहिलो दुर्घटनाको केही समयपछि राजधानी सोफियातर्फ आउने लेनमा पनि सवारीसाधनहरू एकापसमा ठोक्किए।
दुर्घटनास्थलमा भएको पहिलो घटनालाई हेर्ने क्रममा चालकहरूको ध्यान सडकबाट हट्दा थप दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। तीव्र गतिका कारण पनि दुर्घटनाको जोखिम बढेको उनीहरूको भनाइ छ।
याम्बोल क्षेत्रका गभर्नर जर्जी चालाकोभका अनुसार दुर्घटनापछि केही यात्रु सवारीसाधनभित्रै फसेका थिए। उनीहरूलाई उद्धार गर्न सुरक्षाकर्मीले सडक किनारमा रहेका अवरोधक बारका केही भाग काट्नुपरेको थियो।
बाक्लो कुहिरोका कारण घाइतेको उद्धारका लागि हेलिकप्टर परिचालन गर्नसमेत सम्भव भएन। दुर्घटनाका क्रममा एउटा सवारीसाधनमा आगलागीसमेत भएको थियो। उक्त गाडीमा फसेका एक व्यक्तिलाई एक सर्वसाधारणले आफ्नो ज्यानको परवाह नगरी उद्धार गरेका थिए।
दुर्घटनापछि राजमार्गमा क्षतिग्रस्त सवारीसाधन र भग्नावशेष हटाउने काम भइरहेको छ। ती सबै हटाएपछि मात्रै राजमार्ग पुनः सञ्चालनमा ल्याइने अधिकारीहरूले बताएका छन्।
यसैबीच, बुल्गारियाको भ्रमणमा रहेकी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनसँगको भेट छाडेर प्रधानमन्त्री रुमेन रादेव पनि दुर्घटनास्थलतर्फ गएका थिए।


प्रतिक्रिया