काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले ५ वर्षको कार्यकाल पूरा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा धारणा सार्वजनिक गर्दै सिंहले विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्ने उल्लेख गरे । उनले २०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा बनेको सरकार र २०७४ सालमा बनेको झन्डै दुईतिहाइ बहुमतको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको उदाहरण दिएका छन् ।
इतिहासले राजनीतिक स्थायित्वका विषयमा स्पष्ट सन्देश दिएको उल्लेख गर्दै उनले रास्वपाको बालेन नेतृत्वको सरकारले ५ वर्षको कार्यकाल पूरा गर्नुपर्ने बताए ।
सिंहले कसैको उक्साहटमा नेपालको आन्तरिक राष्ट्रियता कमजोर बनाउने कार्य स्वीकार्य नहुने पनि बताए । देशको माटो र जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
उनले लोकतन्त्रमा न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताए । वर्तमान अवस्थामा न्यायालयले समेत न्याय माग्नुपर्ने परिस्थिति उत्पन्न हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको उल्लेख गर्दै राजनीतिक घटनाक्रममा संयम र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।


प्रतिक्रिया