काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार जारी खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो । एक समय ८ रनमै चार विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकले सम्मानजनक योगफलसम्म पुर्यायो ।
दीपेन्द्रले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६० रन बनाए । उनले आरिफ शेखसँग मिलेर पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरे । आरिफले २५ बलमा १६ रन बनाए ।
त्यसपछि क्रिजमा आएका थारिन्दु रत्नायकेले २३ बलमा अविजित २६ रन जोडे । फाबियन एलेन २ रनमा अविजित रहे ।
सुदूरपश्चिमका सुरुआती चार ब्याटरमध्ये स्कट कुगेलेइनले ६ र विनोद भण्डारीले १ रन बनाए । ब्रान्डन म्याकमुलन र ईशान पाण्डे खाता नखोली आउट भए ।
काठमाण्डुका जाहन्दाद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा १६ रन दिएर २ विकेट हात पारे ।
यसअघि टस जितेर काठमाण्डुका कप्तान करण केसीले पहिले बलिङ गर्ने निर्णय गरेका थिए । खेलमा सुदूरपश्चिमबाट वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेनले डेब्यु गरेका छन् । सुदूरपश्चिमले अविनाश बोहरा र सैफ जैबको स्थानमा दीपक बोहरा र एलेनलाई टोलीमा समेटेको छ ।
डेभिड वार्नर गएपछि काठमाण्डु गोर्खाजले पहिलो पटक खेलिरहेको छ । वार्नरले एनपीएलमा चार खेल खेल्दा काठमाण्डुले चारवटै खेल जितेको थियो । काठमाण्डुबाट दुशान हेमान्था र साम हिजलेट पनि खेलिरहेका छन् ।
आजको खेल जिते काठमाण्डु शीर्ष दुईमा रहँदै क्वालिफायरमा पुग्नेछ । सुदूरपश्चिमले जित निकाले क्वालिफायरमा पुग्ने सम्भावना कायम राख्नेछ ।


प्रतिक्रिया