काठमाण्डु – नेकपा एमालेको राष्ट्रिय भेलामा ३ वटा प्रतिवेदन पेश हुने भएका छन् ।
काठमाण्डुको एक ब्याङ्केटमा हुन लागेको भेलामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विद्या भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ ।
भण्डारी एमालेको राजनीतिमा ओलीपछिको दोस्रो वरियतामा आएपछि पहिलोपटक राष्ट्रिय भेला हुन लागेको हो ।
भेलाले पार्टी संगठन सुदृढ भएको सन्देश दिने बताइएको छ। तर अध्यक्ष ओली पदमा बसिरहेकाले संगठन सुदृढ भएको विषयमा कार्यकर्ताले खासै महसूस गर्न सकेका छैनन् । यस्तैमा ओलीले राष्ट्रिय भेला बोलाएका हुन् ।
भेलामा प्रस्तुत हुने ३ वटा प्रस्तावहरू लगभग अन्तिम तयारी अवस्थामा पुगेका छन् ।
उपाध्यक्ष विष्णु पौडेलले एमालेले अहिलेसम्म नेतृत्व गरेका सरकारका उपलब्धिको विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीको संसदीय संघर्ष र खेल्नुपर्ने भूमिकाका विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र आगामी निर्वाचनको कार्ययोजनासम्बन्धी कार्यपत्र पेस गर्ने कार्यक्रम छ ।
तीनै जनाको कार्यपत्रको सेरोफेरोमा केन्द्रित रहेर २ दिनसम्म भेलामा आन्तरिक छलफल गर्ने एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए ।
भेला मंसिर २ र ३ गते काठमाण्डुमा हुन लागेको छ । भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा ८ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन् ।
७७ जिल्ला, सम्पर्क कमिटी अन्तर्गतका ७ जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका ४ जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहने ढकालको भनाइ छ ।


प्रतिक्रिया