जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा असमझदारी नरहेको बताएका छन्।
उनले वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारलाई दिइएका सुझाव र आलोचनालाई लिएर फैल्याइएका हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन्।
शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामिछानेले सरकार चुनावी वाचा र प्रतिबद्धता पूरा गर्न दृढताका साथ अघि बढिरहेको बताएका छन्। सरकारलाई सुझाव दिनु वा रचनात्मक आलोचना गर्नु आन्तरिक विवाद अथवा पार्टी विभाजनको संकेत नभएको उनको जवाफ थियो ।
रास्वपाले लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने भएकाले पार्टीभित्र बहस, विमर्श र फरक मत स्वाभाविक रहेको उनले बताए। पक्ष-विपक्षका छलफललाई नेतृत्वले सकारात्मक रूपमा लिने गरेको पनि उनले बताए।
मधेसमा विकास र परिवर्तनको अपेक्षाबारे बोल्दै लामिछानेले यसपटक जनताले रास्वपालाई ठूलो भरोसासहित अवसर दिएको बताए।
‘अहिले पाएको जनमतबाट पनि मधेसले परिवर्तनको आशा र अनुभूति गर्न सकेन भने म अर्को पटक यहाँ भोट माग्न आउने छैन,’ उनले भने। लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
उनले अब जनताका बिचमा आश्वासन र वाचापत्र बोकेर नभई परिणाम लिएर जाने बताए । जनताले पार्टीलाई दिएको अपार विश्वासलाई खेरजान नदिने उल्लेख गर्दै लामिछानेले जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ ।’
पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने उनले स्पष्ट पारे ।
रास्वपाले गरिब तथा विपन्न बस्तीमा टिकट नभई शिक्षा, स्वास्थ्य र रोजगारी पुर्याउने उद्देश्य राखेको उनको भनाइ थियो । ‘यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो,’ उनले भने ।
उनले सरकारले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न तल्लीन रहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । रास्वपा सभापति लामिछाने दम्पती छठ पर्व मनाउन शनिबार जनकपुरधाम आएका हुन् ।


प्रतिक्रिया