नयादिल्ली- भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सम्भावित फिर्तीका लागि दुई सर्त अघि सारेको छ। बीबीसी बाङ्लाको रिपोर्टअनुसार भारत सरकारले बंगलादेशसामु दुई सर्त राखेको हो।
रिपोर्टअनुसार, पहिलो सर्त हसिनालाई बंगलादेश फर्काउने जिम्मा बंगलादेशी सेनाले लिनुपर्ने छ। उनी ५ अगस्ट २०२४ मा बंगलादेशी सैन्य विमानबाट भारत पुगेकी थिइन्। त्यसैले बंगलादेशले सैन्य विमान पठाएर वा सेनाको जिम्मेवारीमा उनलाई फर्काउनुपर्ने सर्त भारतीय अधिकारीहरूले राखेका छन्।
दोस्रो सर्तमा मृत्युदण्डको फैसलाविरुद्ध अपिल गर्ने र निष्पक्ष सुनुवाइ पाउने अवसर सुनिश्चित गर्नुपर्ने उल्लेख छ। जुलाई २०२४ को हिंसासम्बन्धी आरोपमा पुनः सुनुवाइ हुनुपर्ने चाहना पनि भारतले राखेको रिपोर्टमा भनिएको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले नोभेम्बर १३ मा यसबारे सोधिएको प्रश्नमा टिप्पणी गर्न अस्वीकार गरेका थिए। यसअघि हसिनाले डिसेम्बरमा बंगलादेश फर्कन चाहेको बताएकी थिइन् । उनले नोभेम्बर ९ मा नयाँ पासपोर्ट तथा यात्रा कागजातका लागि आवेदन दिएको खबर सार्वजनिक भएको थियो।
हसिनाको फिर्तीबारे भारत र बंगलादेशबीच संवाद भइरहेको । उनी यही डिसेम्बरमा देश फर्कन सक्ने चर्चा छ। तर भारतका भनिएका दुई सर्त र वार्ताको विषयमा अहिलेसम्म अधिकारीहरूले मुख खोलेका छैनन्।


प्रतिक्रिया