काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले छठ पर्वपछि मधेस प्रदेशमा नयाँ सरकार गठन हुने बताएका छन्। अब त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी पनि उनले गरेका छन्। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसमेत जसपालाई सरकारको नेतृत्व दिन तयार रहेको बताएका छन्।
शनिबार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि मधेस प्रदेश सरकारविहीन बनेको छ। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका यादवले अल्पमतमा परेपछि विश्वासको मत नलिई प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएका थिए। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले उनको राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेको छ। यसका लागि मंसिर ४ गते दिउँसो ४ बजेसम्मको समयसीमा तोकिएको छ।
मधेस प्रदेशमा सरकार गठनका लागि कम्तीमा ५४ जना सांसदको समर्थन आवश्यक पर्छ। अहिले जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२ तथा संघीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना सांसद छन्।
अहिले मधेस प्रदेश सरकारको नेतृत्व जसपा नेपालले मागेको छ। जसपालाई नेतृत्व दिन नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी तयार हुनुपर्नेछ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच यस विषयमा निरन्तर छलफल भइरहेको छ।
यता नेपाली कांग्रेसका सभापति गगन थापाले भने मधेस प्रदेश सरकारमा सहभागी नहुने निर्णय सुनाइसकेका छन्। त्यसैगरी, जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि मधेस सरकारमा सहभागी नहुने जानकारी दिएका छन्। तर, राउत नेतृत्वको जनमत पार्टी अग्रगामी मोर्चाको घटक भएकाले जसपाले उसलाई पनि सरकारमा समेट्ने योजना बनाएको छ। यसका लागि राउतसँग छलफल गर्ने तयारी भइरहेको जसपा प्रवक्ता सुमन बताउँछन्।
सुमनका अनुसार अहिलेको बाध्यात्मक परिस्थितिले जसपालाई सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा पुर्याएको हो। ठूलो दलको हैसियतमा जसपालाई सरकारको नेतृत्व दिन नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी पनि सकारात्मक रहेको उनको दाबी छ।
काठमाण्डुपाटीसँगको कुराकानीमा सुमनले मधेसमा जसपाले सरकारको नेतृत्व गर्ने र पार्टीका तर्फबाट संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्ने बताए। उनका अनुसार छठ पर्वपछि सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। मधेसमा सरकार बनाउन एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनमतसँगै कांग्रेससँग पनि छलफल गर्ने जसपा प्रवक्ता सुमनको भनाइ छ।
मधेस प्रदेशसभा विघटन हुन नदिनकै लागि आफूहरू सरकारमा जान लागेको उनले स्पष्ट पारे। प्रदेशसभाको कार्यकाल एक वर्ष बाँकी रहेकाले त्यो अवधिभन्दा अगाडि सरकार परिवर्तन गर्ने विषयमा सहमति हुने अवस्था आए आफूहरू सरकारमा सहभागी नहुने उनको भनाइ छ।
मधेस प्रदेश सरकारको आगामी नेतृत्व, सत्ता समीकरण र दलहरूबीच भइरहेको छलफलका विषयमा केन्द्रित रहेर जनता समाजवादी पार्टीका प्रवक्ता सुमनसँग काठमाण्डुपाटीले गरेको कुराकानीको सम्पादित अंश :
मधेसमा जनता समाजवादी पार्टीले मुख्यमन्त्री माग्दै छ रे, हो ?
हामी यो परिस्थितिका सिर्जक होइनौँ। हामीले यस्तो परिस्थिति आउँछ भनेर चिताएका पनि थिएनौँ। जेन-जी आन्दोलनपछि लोकतन्त्रमा स्थिर सरकारको अपेक्षा गरिएको छ। अब प्रदेश सरकारको कार्यकाल एक वर्ष मात्रै बाँकी छ। मधेस प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस, एमाले र माओवादीबीच लुछाचुँडी भइरहेका बेला हामीलाई सरकारमा जान मन थिएन।
आजको परिस्थिति आउनुमा कांग्रेस, एमाले र नेकपा नै दोषी छन्। कांग्रेसले विश्वासको मत पाउन नसकेपछि कृष्णजीले राजीनामा दिनुभएको छ। प्रदेश प्रमुखले आह्वान गरिसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर प्रदेश सरकार बनाउनुपर्ने हुन्छ।
हामी अहिले सरकार बनाउने मुडमा थिएनौँ। तर, ठूलो दलको हैसियतले भूमिका खेल्नुपर्ने परिस्थिति आएको छ। हामीले नेतृत्व गरेको अग्रगामी मोर्चाले कुनै पनि सरकारमा सहभागी नहुने निर्णय नै गरिसकेको छ। आफ्नै निर्णयविपरीत सरकारको नेतृत्व गर्ने वा त्यसमा सहभागी हुने कुरा हाम्रा लागि अप्ठ्यारो छ।
तर, हामीले नै मोर्चाको निर्णय पालना गर्यौँ भने मधेस प्रदेश सरकार विघटन हुने स्थिति आउन सक्छ। किनकि ठूलो दलको हैसियतले हामीले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जुन संसद्ले सरकार निर्माण गर्न सक्दैन, त्यो संसद् विघटन हुने स्थितिमा पुग्न सक्छ। यही कारण हाम्रो भूमिका अपरिहार्यजस्तै भएको छ।
हामी अहिले अनौठो र चिन्ताजनक अवस्थामा पुगेका छौँ। अहिलेसम्म हामी कुनै निर्णयमा पुगिसकेका थिएनौँ। तर, प्रदेश प्रमुखले आह्वान गरिसकेपछि नयाँ परिस्थितिबारे पुनः निर्णय गर्नुपर्ने अवस्था आएको छ।

तपाईंहरू प्रदेशसभा विघटन हुन नदिन नेतृत्व लिने कुरा गर्नुहुन्छ। तर, एमाले र नेकपासँग कुरा गर्दा उपेन्द्र यादवले मुख्यमन्त्री माग्नुभएको छ भन्ने कुरा आउँछ। अलि कुरा मिलेन नि ?
हामीले नेतृत्व मागेको र सरकारमा सहभागिता खोजेको होइन। बरु उहाँहरूले नै बोलाएर तपाईँहरूका लागि हामी तयार छौँ भन्नुभएको हो। कृष्ण यादवजीले राजीनामा दिएपछि मधेस प्रदेश सरकारविहीन बनेको छ। हामी मधेसको सबैभन्दा ठूलो दल हौँ। त्यसैले सरकार निर्माणमा हाम्रो महत्त्वपूर्ण भूमिका हुन्छ। हामीले अहिले साँच्चिकै भूमिका निर्वाह गरेनौँ भने संसद् नै विघटन हुने स्थिति आउन सक्छ।
हामी प्रदेशसभा विघटन हुन दिँदैनौँ। मधेसवादी दलहरूले नै देशमा स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्नचिह्न उठिरहेका बेला हामी चुप लागेर, हातमा हात बाँधेर संसद् विघटन भए पनि होस् भनेर बस्न सक्दैनौँ।
अर्थात्, संसद्को प्रतिरक्षाका लागि र यसको एकवर्षे कार्यकालको रक्षा गर्न पनि हामीले सरकारको नेतृत्व गर्नुपर्ने बाध्यता आइपरेको छ। यो परिस्थितिका सिर्जक हामी होइनौँ।
उससो भए छठपछि जनता समाजवादी पार्टी, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर मधेसमा सरकार बन्छ?
कोसँग मिलेर सरकार बन्छ भन्ने विषयमा सबै तयारी पूरा भइसकेको छैन। तर, जनता समाजवादी पार्टीले मधेस सरकारको नेतृत्व गर्छ भन्ने कुरा चाहिँ लगभग निश्चितजस्तै हो।
कोसँग मिल्छौँ र कोसँग मिल्दैनौँ भन्ने विषयमा छलफल टुंगिएको छैन। प्रदेश प्रमुखजीले मंसिर ४ गतेसम्म सरकार निर्माणका लागि आह्वान गर्नुभएको छ। त्यसपछि हामी छलफलमा जुट्नुपर्ने अवस्था छ। सबै पार्टीसँग जोडतोडका साथ छलफल हुन्छ।
उससो भए मधेसको नेतृत्व जसपाले गर्छ?
परिस्थितिले त्यही भन्छ। मधेस प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टीले गर्छ। त्यसो गरिएन भने समस्या हुन सक्छ। मधेस प्रदेशसभा नै विघटन हुन सक्छ।
उससो भए मधेस प्रदेशमा जसपा संसदीय दलका नेता नै मुख्यमन्त्री बन्नुहुन्छ?
हो, अहिले संसदीय दलको नेता जो हुनुहुन्छ, उहाँ नै मुख्यमन्त्री बन्ने हो। अब त्यहाँको मुख्यमन्त्री जसपाबाट सरोजकुमार यादव नै हो।
अहिले छठ पर्व भइरहेका कारण अरू धेरै पार्टीसँग छलफल हुन पाएको छैन। एमाले र नेकपा पनि हामीलाई नेतृत्व दिन नकारात्मक हुनुहुन्न। तर, अरू दलसँग पनि हामी संवाद गर्छौँ। छठ सकिएपछि चाँडै निर्णय आउँछ।
जनता समाजवादी पार्टीको नेतृत्वमा बन्ने सरकार आगामी निर्वाचनसम्म नै जान्छ कि बीचमा फेरबदल गर्ने सहमति पनि गर्नुहुन्छ?
हामी पूरै कार्यकालका लागि स्थिर सरकार बन्नुपर्छ भन्ने कुरामा एकमत छौँ। एक वर्षभित्र पनि आलोपालो सरकार बनाउने विषयमा हामी सहमति गर्दैनौँ। बरु त्यस्तो सहमतिलाई हामी मान्दैनौँ। सरकार परिवर्तन गरिरहने खेलमा जसपा लाग्दैन।

जुन–जुन दल मिले पनि नेतृत्वचाहिँ जसपालाई नै आउनुपर्ने हो?
हामीले मागेका होइनौँ, चिताएका पनि होइनौँ। परिस्थिति, संविधान, कानुन र अध्ययनले पनि त्यही भन्छ। एउटा धाराअनुसार कसैले सरकार बनाउन सकेन भने ठूलो दलको हैसियतले हामीकहाँ मुख्यमन्त्री आउने अवस्था रहन्छ। त्यसकारण पनि हामी बाध्यात्मक परिस्थितिमा छौँ।
हामी अहिले छलफलमै छौँ। निर्णय संस्थागत भइसकेको छैन। हामीलाई सरकारको नेतृत्व दिनका लागि जुनसुकै दल पनि तयार भएको अवस्था देखिरहेको छु।
तपाईंहरू अग्रगामी मोर्चामा पनि हुनुहुन्छ। मधेस प्रदेशसभामा प्रतिनिधित्व गरिरहेको सीके राउत नेतृत्वको जनमत पार्टी पनि तपाईंहरूको मोर्चामा छ। उहाँहरूले सरकारमा नजाने भन्नुभएको छ। के गर्नुहुन्छ?
उहाँहरू हाम्रो मोर्चाको घटक भएकाले स्वाभाविक रूपमा उहाँहरूसँग हाम्रो संवाद हुन्छ। उहाँहरूलाई पनि जोड्ने प्रयत्न हामी पक्कै गर्नेछौँ। हामी एउटै मोर्चाको घटक भएकाले उहाँहरूलाई पाखा लगाएर हामी मात्रै जाऔँ भन्ने पक्षमा छैनौँ। मोर्चाको एउटा घटकलाई छोडेर पृथक् तरिकाले जाने विषय हामीले सोचेका छैनौँ। हामी सीकेजीलाई पनि भेटेर छलफल गर्छौँ।


प्रतिक्रिया