काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपाल–भारतबीच ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
मन्त्री श्रेष्ठले भूमिगत जलस्रोतको पुनर्भरण, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार र विद्युत् निर्यातको सीमा बढाउन भारतीय पक्षसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

त्यस्तै, निर्माणाधीन ऊर्जा परियोजना समयमै सम्पन्न गर्ने तथा नेपालमा सौर्य ऊर्जाको विकास र विस्तारमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
दुवै पक्षले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा हितका आयोजनालाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया