एमएस धोनीले लिए आईपीएलबाट सन्यास, सीएसकेको मेन्टर नियुक्त

एमएस धोनीले लिए आईपीएलबाट सन्यास, सीएसकेको मेन्टर नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)बाट पनि सन्यास लिएका छन् ।
धोनीले मंगलबार आईपीएलबाट पनि सन्यास लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

५ पटकको आईपीएल विजेता चेन्नई सुपर किंग्स (सीएसके) ले सन् २०२७ को आईपीएल सिजनदेखि धोनीलाई फ्रेन्चाइजको मेन्टर नियुक्त गर्ने निर्णय गरेको छ।

आईपीएलमा धोनीको खेलाडीका रूपमा यात्रा समाप्त भए पनि सुपर किंग्ससँगको उनको सम्बन्ध भने निरन्तर रहने फ्रेन्चाइजले स्पष्ट पारेको छ।

सीएसकेका मालिक एन श्रीनिवासन र सहमालिक रुपा गुरुनाथले पूर्वभारतीय कप्तान धोनीको योगदानको प्रशंसा गरेका छन्। उनीहरूले करिब दुई दशकदेखि फ्रेन्चाइजसँग जोडिएका धोनीको भूमिका र टोलीको आगामी संक्रमणकालमा उनको उपस्थितिको महत्त्व औँल्याएका छन्।

श्रीनिवासनले भनेका छन्, ‘एमएस धोनीबिना सीएसके नै हुँदैन। करिब दुई दशकदेखि हामीले सफलतादेखि असफलतासम्मका हरेक परिस्थितिमा एकअर्कासँगै यात्रा गरेका छौँ।’

उनले सन् २००८ मा धोनीलाई सीएसकेमा भित्र्याउन आफूले विशेष पहल गरेको स्मरण गर्दै उनलाई अनुबन्ध गर्नु आफ्नो जीवनकै उत्कृष्ट निर्णयमध्ये एक भएको बताए।

धोनीप्रतिको आफ्नो सम्मान क्रिकेट मैदानमा उनले हासिल गरेका उपलब्धिमा मात्र सीमित नरहेको उल्लेख गर्दै श्रीनिवासनले उनको व्यक्तित्वको समेत प्रशंसा गरे।

धोनीले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा गरी चेन्नई सुपर किंग्सलाई पाँच पटक आईपीएल उपाधि जिताएका छन्। यससँगै उनी फ्रेन्चाइजको सबैभन्दा प्रतिष्ठित अनुहारका रूपमा स्थापित भएका छन्।

उनले आफ्नो आईपीएल करियरमा २७८ खेल खेल्दै २४ अर्धशतकसहित कुल ५ हजार ४३९ रन बनाएका छन्। चेन्नई सुपर किंग्सका लागि भने उनले २७२ खेलमा ५ हजार ३१४ रन बनाएका छन्।

धोनी चेन्नई सुपर किंग्सका लागि सर्वाधिक रन बनाउने खेलाडीमध्ये दोस्रो स्थानमा छन् भने टोलीबाट सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन्।