काठमाण्डु– काठमाण्डु–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङमार्गको दायाँ ट्युब बुधबार (आज) ब्रेकथ्रु हुने भएको छ।
३ हजार ४२२ मिटर लामो सुरुङ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा छिचोल्ने तयारी नेपाली सेनाले गरेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले आज महादेवटार सुरुङको दायाँ ट्युब ब्रेकथ्रु हुने बताएका छन्।
यसअघि ३ हजार ४८६ मिटर लामो बायाँ ट्युबको ब्रेकथ्रु भइसकेको छ। दायाँ ट्युब पनि छिचोलिएपछि आयोजनाको सबैभन्दा लामो सुरुङ खन्ने काम पूरा हुनेछ।
उक्त ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई लग्ने तयारी नेपाली सेनाले गरेको छ। प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति पौडेल बुधबार महादेवटार सुरूङ ब्रेकथ्रु समारोहमा सहभागी हुने जानकारी काठमाण्डुपाटीलाई दिएका छन्।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको ७०.९७७ किलोमिटर लामो फास्ट ट्र्याकको भौतिक प्रगति ५० प्रतिशत नजिक छ।
आर्थिक वर्ष २०८२/८३ सम्म आयोजनाको भौतिक प्रगति ४८.७२ प्रतिशत र वित्तीय प्रगति ५०.६३ प्रतिशत पुगिसकेको छ। हालसम्म ९२ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ।
सरकारले यस बहुप्रतिक्षित आयोजनाको निर्माणअवधि फेरि एक पटक तीन वर्ष थपेर २०८६ चैतसम्मलाई तोकेको छ।


प्रतिक्रिया