काठमाण्डु– कप्तान तथा महान् खेलाडी लियोनल मेस्सीको अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइपछि पहिलो हार बेहोरेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेको छ।
उरूग्वेसँग हारेपछि बुधबार बिहान भएको अर्को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले कोस्टारिकालाई ७-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा निको पाज र जुलियन अल्भारेजले दुई-दुई गोल गरे। फ्रान्को मास्तान्तुओनोले पनि दुई गोल थपे भने एलेक्सिस म्याक एलिस्टरले एक गोल गरे।
खेलको आठौँ मिनेटमै निको पाजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले ३८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। जुलियन अल्भारेजले ३५औँ र ४३औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना ४–० ले अघि रह्यो।
दोस्रो हाफमा पनि अर्जेन्टिनाको आक्रमण रोकिएन। म्याक एलिस्टरले ७८औँ मिनेटमा गोल गरे। मास्तान्तुओनोले ४८औँ र ८८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित ७–० बनाए।
मेस्सीको सन्यासपछि अर्जेन्टिनाले खेलेको पहिलो खेलमा उरुग्वेसँग २–१ को हार बेहोरेको थियो। तर, कोस्टारिकाविरुद्धको जितले अर्जेन्टिनाले आफ्नो लयमा फर्किएको संकेत गरेको छ।
निको पाजले पछिल्ला पाँच खेलमध्ये चार खेलमा गोल गरेका छन्। अल्भारेजले पनि पछिल्ला चार खेलमा लगातार गोल गरेका छन्।


प्रतिक्रिया