काठमाण्डु – इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामग्रीप्रति जिल्ला प्रहरी परिसर काठमाण्डुले आपत्ति जनाएको छ ।
अनुसन्धान अधिकारीको हवाला दिँदै अनुसन्धानलाई प्रभावित पार्ने र मोबाइल लोकेसनलगायत अप्रमाणित विषय सार्वजनिक गरिएको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डुले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकार वादी र इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धान प्रचलित कानुन, विधि र प्रक्रियाबमोजिम गोप्य रूपमा भइरहेको उल्लेख गरेको छ ।
अनुसन्धानका क्रममा रहेका संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको प्रहरीले स्पष्ट पारेको छ । अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रहरी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना नगरी मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने जनाएको छ । त्यसैले यस्ता विषय सार्वजनिक गर्नुअघि तिनको आधिकारिकता पुष्टि गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
अनुसन्धानको संवेदनशीलता र कानुनी व्यवस्थाको उल्लंघन हुने गरी सामग्री प्रकाशन वा सम्प्रेषण गरिए प्रचलित कानुनबमोजिम हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।
प्रहरी उपरीक्षक तथा परिसरका प्रवक्ता एवं सूचना अधिकारी दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित विषयमा आधिकारिकता पुष्टि गरेर मात्रै सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ ।




प्रतिक्रिया