राप्रपाको महाधिवेशन आसन्न निर्वाचन र पार्टीको रूपान्तरणमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

राप्रपाको महाधिवेशन आसन्न निर्वाचन र पार्टीको रूपान्तरणमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई बलियो राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न पुस्तान्तरणसँगै रूपान्तरण अपरिहार्य रहेको बताएका छन् ।

बुधबार हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले राप्रपाको आगामी महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सीमित हुन नहुने बताए ।

महाधिवेशन आगामी स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन, नेतृत्व, कार्यशैली र राजनीतिक कार्यदिशा परिवर्तन गर्ने अवसर बन्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘राप्रपाको महाधिवेशन सिर्फ नेता छान्नका लागि मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीति निर्माण गर्न र पार्टी रूपान्तरणमा केन्द्रित हुनुपर्छ । पुस्तान्तरणसँगै रूपान्तरण गर्न सकेनौँ भने आगामी प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न सक्दैन ।’

शाहीले चुनाव आउँदा कहिले एमालेको त कहिले कांग्रेसको राजनीतिक कोटा ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । राप्रपा अरू राजनीतिक दलको सहारा र कोटामा निर्भर नभई आफ्नै विचार, संगठन र नेतृत्वको बलमा निर्वाचन जित्न सक्ने पार्टी बन्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘हामी अरूको राजनीतिक बैसाखी टेकेर होइन, आफ्नै शक्तिमा उभिएर चुनाव जित्ने पार्टी बनाउन चाहन्छौँ । त्यसका लागि पुस्तान्तरणसँगै रूपान्तरण आवश्यक छ । गुट र उपगुट होइन, एकता र संगठन निर्माण हाम्रो प्राथमिकता हुनुपर्छ ।’

शाहीका अनुसार अबको महाधिवेशन पार्टीभित्र पद र नेतृत्व बाँडफाँट गर्ने माध्यम मात्र नभई नयाँ पुस्ताको उदय, नयाँ सोच र नयाँ ऊर्जासहित राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने अवसर हुनुपर्छ ।

उनले महाधिवेशनको सफलता नेतृत्व परिवर्तनमा मात्र नभई पार्टीको संगठनात्मक रूपान्तरण, आगामी निर्वाचनको तयारी र आफ्नै राजनीतिक शक्तिमा उभिएर चुनाव लड्ने सामर्थ्य विकास गर्नमा देखिनुपर्ने धारणा व्यक्त गरेका छन् ।