काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति पाएका जलविद्युत् आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति पाएको छ ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते उक्त विद्युत् आईएक्सको डे-अहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न स्वीकृति दिएको हो । स्वीकृतिअनुसार प्राधिकरणले १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ सम्म उक्त परिमाणको विद्युत् बिक्री गर्न सक्नेछ ।
अनुमति प्राप्त विद्युत्मध्ये २०५ मेगावाट कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत निर्यात गरिनेछ । बाँकी ३८९ मेगावाट भने ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गरिनेछ ।
नेपाल विद्युत् प्राधिकरण र भारतका एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुनदेखि अक्टोबरसम्म भारतको हरियाणा र बिहार राज्यमा विद्युत् निर्यात हुँदै आएको छ । चालु वर्षका लागि सम्झौताअनुसार विद्युत् निर्यात गर्ने अवधि गत अक्टोबर ३१ अर्थात् कात्तिक १४ गते समाप्त भएको थियो ।
सम्झौताअन्तर्गत निर्यात हुँदै आएको विद्युत्को वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न प्राधिकरणले निर्यातयोग्य आयोजनाहरूको सूची निर्यात अवधि समाप्त हुनुअघि नै भारतीय सम्बन्धित निकायमा पठाएको थियो । त्यसपछि स्वीकृतिका लागि निरन्तर पहल र फलोअप गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट गरी कुल ५९४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको हो ।
प्राधिकरणले आन्तरिक खपतबाट बढी हुने वर्षायामको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्दै आएको छ । यसबाहेक द्विपक्षीय सम्झौताअनुसार भारतका हरियाणा र बिहार तथा बङ्गलादेशमा समेत विद्युत् निर्यात हुँदै आएको छ ।
थप २१.३४ मेगावाट विद्युत् निर्यातको अनुमति
यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणले सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित थप २१.३४ मेगावाट विद्युत् निर्यात गर्न पनि स्वीकृति दिएको छ ।
उक्त आयोजनाको विद्युत् १८ नोभेम्बर २०२६ देखि ३१ अगस्ट २०२७ सम्म भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न अनुमति प्राप्त भएको हो ।
यससँगै भारततर्फ निर्यातका लागि स्वीकृति प्राप्त कुल विद्युत् परिमाण १ हजार १९८ मेगावाट पुगेको छ । त्यस्तै, आगामी हिउँदयाममा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन कायम गर्न भारतबाट १ हजार ४ मेगावाट विद्युत् आयात गर्नसमेत अनुमति प्राप्त भइसकेको प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया