ढाका- बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्द आह्वान गरेसँगै राजनीतिक हिंसा चर्किएको छ। राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र तोडफोडका घटना भएका छन्।
प्रदर्शनकारीले पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको चटगाउँस्थित पुर्ख्यौली घरमा आगजनी गरेका छन्। युनुसले स्थापना गरेको ग्रामीण बैंकका विभिन्न शाखामा समेत आगो लगाइएको छ।
ढाकामा अवामी लिगका दुई नेताका घरमा पनि आक्रमण भएको छ। यी घटनामा प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताको संलग्नता रहेको आशंका गरिएको छ।
पछिल्लो दुई दिनमा बंगलादेशका २८ जिल्लामा घरेलु बम विस्फोट र सवारीसाधनमा आगजनी भएको डेली स्टारसहितका सञ्चारमाध्यमहरूले जनाएका छन्। कम्तीमा दुई बीएनपी कार्यालय र एक नेताको घरमा पनि आगजनी भएको छ। त्यस्तै, अवामी लिगका दुई पार्टी कार्यालय र नेताहरूसँग सम्बन्धित पाँच सम्पत्तिमा आगो लगाइएको छ।
बन्दअघि ढाकामा ५६५ जना पक्राउ
अवामी लिगले देशव्यापी बन्द घोषणा गरेपछि प्रहरीले ढाकामा २४ घण्टाभित्र ५६५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हसिना सरकारका पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिद पनि छन्। उनलाई बुधबार मध्यराति ढाकास्थित निवासबाट नियन्त्रणमा लिइएको हो।
अवामी लिगले गत वर्ष विशेष न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई अनुपस्थितिमै मृत्युदण्ड सुनाएको निर्णयको वार्षिकोत्सवका अवसरमा बन्द आह्वान गरेको हो।
सन् २०२४ को जुलाईमा भएको विद्यार्थी आन्दोलन दबाउने क्रममा मानवताविरुद्धको अपराध गरेको आरोपमा हसिनालाई उक्त सजाय सुनाइएको थियो।
हसिनाको पार्टी अवामी लिगद्वारा देशव्यापी बन्द आह्वान, ढाकामा २४ घण्टामा ५६५ जना पक्राउ
हिंसात्मक घटनापछि ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख फ्लाइओभरमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने सहर प्रवेश गर्ने र बाहिरिने नाकामा सवारीसाधन जाँच भइरहेको छ।
अवामीविरुद्ध एकजुट हुन तारिकको आह्वान
प्रधानमन्त्री तारिक रहमानले बुधबार राति संसद्मा सम्बोधन गर्दै अवामी लिगलाई पुनः सक्रिय हुन नदिन राजनीतिक दल र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
उनले अवामी लिगलाई आतंकवादी संगठन र सत्ताबाट हटाइएको फासीवादी शक्ति भन्दै सन् २०२४ मा जस्तै फेरि एकताबद्ध भएर पराजित गर्नुपर्ने बताएका छन्।
बीएनपीका सांसदहरूलाई आआफ्नो निर्वाचन क्षेत्रमा फर्किएर पार्टी कार्यकर्तासँगै सक्रिय हुन पनि उनले निर्देशन दिएका छन्।
स्वदेश फर्किने हसिनाको घोषणापछि तनाव
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनपछि शेख हसिनाको सरकार ढलेको थियो। त्यसपछि मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए। उनको सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाउँदै पार्टीका हजारौँ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो।
हाल भारतमा रहेकी हसिनाले सन् २०२६ को जुलाईमा डिसेम्बरमा बंगलादेश फर्किएर अदालतको कानुनी प्रक्रिया सामना गर्ने इच्छा व्यक्त गरेकी थिइन्। यसै महिना उनले आफू जसरी पनि डिसेम्बरमा स्वदेश फर्किने दोहोर्याएपछि बंगलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ।
हिंसाको सुरुवात हसिनाको गृहनगर तुंगिपाराबाट भएको बताइएको छ। मंगलबार अवामी लिग समर्थक भएको आशंकामा केही युवालाई पक्राउ गरेपछि सयौँ प्रदर्शनकारीले स्थानीय प्रहरी कार्यालय घेराउ गरेका थिए।
त्यतिबेला प्रहरी कार्यालयमा करिब ३० जना शंकास्पद कार्यकर्ता हिरासतमा रहेको स्थानीय पत्रकारलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
गृहमन्त्री सलाहुद्दिन अहमदले हिंसामा संलग्न व्यक्तिको पहिचान गरी कडा कानुनी कारबाही गर्ने बताएका छन्। दोषी पहिचान गर्न अडियो तथा भिडियो प्रमाण प्रयोग गरिने उनको भनाइ छ।



प्रतिक्रिया