एमालेको राष्ट्रिय भेला : निर्वाचन तयारीसँगै लोकतन्त्रको ‘वापसी’का लागि आन्दोलन गर्ने

एमालेको राष्ट्रिय भेला : निर्वाचन तयारीसँगै लोकतन्त्रको ‘वापसी’का लागि आन्दोलन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको राष्ट्रिय भेला २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गर्दै बुधबार सम्पन्न भएको छ।

मङ्सिर २ र ३ गते काठमाण्डुको कार्की बैंक्वेटमा भएको भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको ‘वापसी’का लागि आन्दोलनको तयारी गर्ने निर्णय गरेको हो।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ नारासहित आयोजित भेलामा देशभर र प्रवासबाट ३ हजार ४१४ जना प्रतिनिधि सहभागी भएका थिए।

भेलाले पारित गरेको विशेष प्रस्तावमा वर्तमान सरकारमाथि राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन, संवैधानिक संस्थामाथि हस्तक्षेप र स्वेच्छाचारी शासन सञ्चालन गरेको आरोप लगाइएको छ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीदेखि विभिन्न राजनीतिक दलका नेता, व्यवसायी र सञ्चारकर्मीमाथि भएका कारबाहीलाई एमालेले राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ।

प्रस्तावमा सञ्चारगृहका समाचार कक्षमा प्रहरी प्रवेश गर्ने, पत्रकारलाई गिरफ्तार गर्ने तथा कन्टेन्ट निर्माता र अभियन्तालाई तर्साउने काम भइरहेको आरोपसमेत लगाइएको छ। विज्ञापनको स्रोत बन्द गरेर स्वतन्त्र सञ्चारमाध्यमलाई निस्तेज पार्न खोजिएको एमालेको दाबी छ।

भेलाले २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न सक्षम न्यायिक आयोग गठनको माग गरेको छ। सरकारले घटनासम्बन्धी छानबिन प्रतिवेदन लुकाएको र राज्य विध्वंसमा संलग्नलाई संरक्षण गरेको आरोप एमालेले लगाएको छ।

त्यस्तै, संविधान, सङ्घीयता र संवैधानिक संस्थामाथि सरकारको दृष्टिकोणप्रति आपत्ति जनाउँदै एमालेले प्रदेश खारेजीसम्बन्धी अभिव्यक्ति र संविधान संशोधनका विषयमा उठेका प्रस्तावको आलोचना गरेको छ।

निर्वाचन र आन्दोलनको तयारी

भेलाले पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउँदै आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प गरेको छ।

पारित सङ्कल्पमा गत वर्षको चुनावी धक्काबाट माथि उठ्दै पार्टीको पुनरुत्थान गर्ने, जनताका सुझाव, गुनासा र आलोचना सुन्ने तथा युवा पुस्तासँग संवाद र सहकार्य बढाउने उल्लेख छ।

‘हामी एउटा लडाइँमा पराजित भएका हौँ, सिङ्गो युद्ध हारेका होइनौँ। आगामी निर्वाचनमार्फत यस सत्यलाई स्थापित गरिछाड्ने छौँ,’ सङ्कल्पमा भनिएको छ।

पार्टीभित्र देखिएका गुटबन्दी, आर्थिक तथा आचरणगत विचलन र जनताबाट टाढिने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता पनि एमालेले व्यक्त गरेको छ। उम्मेदवार चयन गर्दा निर्धारित विधि, जनता र कार्यकर्ताको भावना अनुरूप स्वस्थ प्रक्रिया अपनाउने तथा पार्टीको निर्णयअनुसार उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने सङ्कल्प गरिएको छ।

भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा उठाउन माग

भेलाले प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउँदै भ्रमण नेपालको राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने जनाएको छ।

सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु र लामो समयदेखि रोकिएका परियोजनाको कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउन एमालेले माग गरेको छ। नेपाल–भारत सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्ने प्रस्तावमा उल्लेख छ।

बाढीपीडितको पुनर्स्थापनामा सरकारको आलोचना

भेलाले भोटेकोशीमा आएको बाढी तथा त्यसपछि बुढीगण्डकी र कालीगण्डकी क्षेत्रमा आएका बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। बाढीपीडितको पुनर्स्थापनामा सरकारको भूमिका अव्यवस्थित र निष्प्रभावी भएको आरोप लगाउँदै राहत कोषमा रकम रहे पनि पीडितले न्यूनतम सुविधा नपाएको एमालेको दाबी छ।

बाढी प्रभावित क्षेत्रका ध्वस्त पुल र सडक मर्मत गरी यातायात सम्पर्क विच्छेद भएका बस्ती जोड्न तथा वैज्ञानिक अध्ययनका आधारमा बस्ती पुनर्निर्माण गर्न पनि भेलाले माग गरेको छ।

स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारी गर्ने निर्णय; सरकारका कामको आलोचना गर्दै भदौ २३ र २४ को घटनाबारे न्यायिक आयोग गठन गर्न माग

त्यस्तै, जलवायु परिवर्तनबाट सिर्जित विपत्तिको सामना र जलवायु न्यायका लागि निरन्तर सङ्घर्ष गर्ने सङ्कल्प गरिएको छ। बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सडक स्तरोन्नति, सवारीसाधनको गुणस्तर र चालकको सीप तथा अनुशासनमा ध्यान दिन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

सहकार्यको आह्वान

एमालेले राष्ट्रिय हितको संरक्षण, लोकतन्त्र र संविधानको रक्षा तथा जनसरोकारका विषयमा संवाद, सहकार्य र जनदबाबका लागि सबै देशभक्त, लोकतन्त्र र संविधानका पक्षधर राजनीतिक दल, सचेत नागरिक तथा बौद्धिक समुदायलाई आह्वान गरेको छ।

भेलाले प्यालेस्टाइन, इरान, क्युबा, भेनेजुएला, लेबनान र युक्रेनलगायत मुलुकमा भइरहेको बाह्य हस्तक्षेप, नाकाबन्दी र आक्रमणको निन्दा गर्दै प्यालेस्टिनी जनताको स्वतन्त्र राज्यको मागलाई समर्थन गरेको छ। म्यान्मारमा लोकतन्त्र पुनर्बहालीको मागसमेत गरिएको छ।

भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौँ’, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौँ’, उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताका पक्षमा गरेका काम तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे सम्बोधन गरेका थिए।