सुक्खायामका लागि विद्युत् खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने प्राधिकरणको तयारी

सुक्खायामका लागि विद्युत् खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने प्राधिकरणको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।

प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ सम्म विद्युत् आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो ।

यसका लागि भारतका अनुमतिप्राप्त विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक दरमा विद्युत खरिद गर्न बोलपत्र माग गर्ने प्रस्ताव अघि बढाउने प्राधिकरण सञ्चालक समिति छ । प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्ने योजना बनाएको छ ।

पछिल्ला २–३ वर्षदेखि सुख्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा नेपालले भारतको विद्युत् पावर एक्सचेन्ज (आईईएक्स) को डे अहेड मार्केट (डीएएम) तथा रियल टाइम मार्केट (आरटीएम) बाट विद्युत् खरिद गर्दै आएको छ । यस वर्ष भने भोटेकोशी नदीमा आएको हिमबाढीका कारण विद्युत् आयोजनाहरूमा थप क्षति पुगेपछि आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । बाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाको करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले २०८३ भदौ २५ गते गरेको निर्णयअनुसार आगामी जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत् आरटीसी मोडमा खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो । समितिले आवश्यकताअनुसार थप विद्युत् भारतीय पावर एक्सचेन्जबाट खरिद गर्ने र अप्रिल तथा मे महिनामा माग बढ्ने भएकाले त्यसबेलाको आपूर्ति–माग अवस्था तथा भारतीय बजारमा उपलब्ध विद्युत्को क्षमताका आधारमा थप खरिदको निर्णय लिनुपर्ने निष्कर्ष निकालेको थियो ।

आगामी सुख्खायामसम्म राष्ट्रिय प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजनाहरू जोडिने अपेक्षा गरिएको छ । तर नदीको बहाव घट्ने भएकाले ती आयोजनाबाट सुख्खायाममा करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अनुमान छ । यसले आन्तरिक उत्पादनबाट माग व्यवस्थापन गर्न थप कठिन हुने देखिएको छ ।

प्राधिकरणले १५० मेगावाट विद्युत् खरिदका लागि भारतीय ३ कम्पनीसँग दररेट प्रस्ताव माग गरेको थियो । प्राप्त प्रस्तावमध्ये एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ दर प्रस्ताव गरेका थिए ।

सबैभन्दा कम दर प्रस्ताव गर्ने एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र (एलओआई) जारी गरिएको थियो । कम्पनीलाई असोज २९ गते विद्युत् खरिद सम्झौताका लागि बोलाइएकोमा कम्पनीले असोज ३० गते पत्र पठाउँदै प्रस्तावित दरमा सम्झौता गर्न नसक्ने जानकारी गराएको थियो ।

कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्यमा भएको वृद्धि, विश्वव्यापी मौसम परिवर्तन तथा एल निनो प्रभाव र भारतभित्रै बढ्दो विद्युत् मागलाई कारण देखाउँदै प्रतियुनिट ६ रुपैयाँ ९० पैसामा दिन नसक्ने भन्दै पुरानो प्रस्ताव पुनरावलोकन गर्नुपर्ने जनाएको छ ।

यसैबिच भारतीय विद्युत् बजारको डे अहेड मार्केटमा २०८३ असोजको औसत बजार समायोजन मूल्य (एमसीपी) प्रतियुनिट ११ रुपैयाँ ७४ पैसा नेपाली रुपैयाँ अर्थात् ७ रुपैयाँ ३४ पैसा भारतीय रुपैयाँ पुगेको छ । यसले अघिल्लो प्रस्तावित दरमा विद्युत् खरिद सम्झौता हुन नसकेको अवस्थालाई थप जटिल बनाएको छ ।

प्राधिकरणले पुरानो दरमा सम्झौता हुन नसकेको र आगामी सुख्खायाममा विद्युत्को माग तथा आपूर्तिबिचको अन्तर बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको छ । अन्तर्राष्ट्रिय बोलपत्रमार्फत विभिन्न भारतीय विद्युत् व्यापारिक कम्पनीबाट प्रस्ताव प्राप्त गरी तुलनात्मक रूपमा प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्ने प्राधिकरणको योजना छ ।

सुख्खायाममा आन्तरिक उत्पादन घट्ने र विद्युत्को माग बढ्ने भएकाले समयमै आयातको व्यवस्था मिलाउन सके आपूर्ति जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको निष्कर्ष छ ।