काठमाण्डु – कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ ।
यसदिन घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ । आज जागा हुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको लाम लागेको हो ।
उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ ।
यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने
जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् ।
चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिए ।
बूढानीलकण्ठ नाराययणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्नेगरी व्यवस्था मिलाइएको छ ।
बूढानीलकण्ठको विशेष पूजाका लागि मन्दिर दर्शनार्थीका लागि बन्द गरिने कार्यक्रम रहेको मठले जनाएको छ ।
बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा मङ्सिर ८ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटककोसमेत बूढानीलकण्ठमा भीड लाग्ने गर्छ । मठले प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसर पारेर श्रीमद्भागवत कथा वाचन गराउने गरेको छ । मङ्सिर २ गतेदेखि सुरु भएको महायज्ञ एवं धार्मिक महोत्सव मङ्सिर ८ गतेसम्म सञ्चालन गरिने भएको छ ।
यसैगरी, नारायणहिटी दरबार क्षेत्रस्थित चतुव्र्युह नारायण मन्दिर, हाँडीगाउँ क्षेत्रका नारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्रका नारायण मन्दिर र पशुपति क्षेत्रका नारायण मन्दिर, गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित नारायण मन्दिरलगायत काठमाडौँ उपत्यका र उपत्यका बाहिरका नारायण मन्दिरमा पनि पूजा, आराधना एवं दर्शनका लागि भक्तजन जम्मा भएका छन् ।



प्रतिक्रिया