चीनबाट रास्वपा सांसदहरूको मनोकांक्षा : ओली र महेश अझै चर्को हुनुपर्छ, देउवाले कांग्रेस पाउनुपर्छ, त्यसको फाइदा हामीलाई मिल्छ

चीनबाट रास्वपा सांसदहरूको मनोकांक्षा : ओली र महेश अझै चर्को हुनुपर्छ, देउवाले कांग्रेस पाउनुपर्छ, त्यसको फाइदा हामीलाई मिल्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पाँच दिनदेखि चीन भ्रमणमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच भएको अनौपचारिक राजनीतिक कुराकानी सार्वजनिक भएपछि राजनीतिक वृत्त तातेको छ।

चिनियाँ प्रविधि प्रदर्शनीमा रोबोट अवलोकन गरिरहेका बेला श्रीराम न्यौपानेसहितका सांसदहरूबीच भएको कुराकानी भिडियोमा कैद भएर बिनासम्पादन फेसबुकमा अपलोड भएको हो। सार्वजनिक भिडियोमा उनीहरूले नेपाली कांग्रेसको आन्तरिक विवाद, पार्टीमा शेरबहादुर देउवाको नेतृत्व, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतको चर्को स्वरबारे कुरा गरेको सुनिन्छ।

संवादका क्रममा एकजना महिला सांसद (सम्भवतः समीक्षा बास्कोटा)ले कांग्रेसको नेतृत्व देउवाकै हातमा जानुपर्ने र अदालतले पनि त्यसैअनुसार निर्णय गर्नुपर्ने बताएकी छन्। त्यसपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेत राजनीतिक रूपमा अझ चर्को भएर बाहिर बोल्नुपर्ने आशय उनलेे व्यक्त गरेकी छन्।

कांग्रेस देउवाकै हातमा जानुपर्ने सांसदहरूको विश्लेषण, पुराना दलको विवादबाट राजनीतिक लाभ लिन सकिने निष्कर्ष; काम नगरे आफूहरू पनि त्यही अवस्थामा पुग्ने श्रीराम न्यौपानेको स्पष्टीकरण

‘अदालतले पनि फैसला गरेर शेरबहादुर देउवाकोमा मान्यता जानुपर्छ स्थानीय चुनावसम्म। र, ओलीलाई पनि रोक्नुहुन्न। किनभने डबल चर्को भएर निस्किनुपर्छ ओली र महेश बस्नेत,’ उनले भनेकी छन्।

त्यसपछि रास्वपाकै अर्का सांसदले उनीहरू झन् चर्को भएर निस्किने बताउँछन्। अर्की महिला सांसदले पनि उनीहरूको स्वभाव नै त्यस्तै भएकाले सक्रिय भएर बाहिर आउने धारणा राख्छिन्।

संवादकै क्रममा एक महिला सांसदले ‘काम नगरे त हामीलाई पनि त्यही ठाउँमा पुर्‍याइदिन्छन्’ भनेको सुनिन्छ। अर्का पुरुष सांसदले पुराना दलका नेताहरूको राजनीतिक सक्रियताबाट आफूहरूले फाइदा लिन सक्ने बताउँछन्।

त्यसपछि सांसद श्रीराम न्यौपानेको आवाज सुनिन्छ। उनले भनेका छन्, ‘तर हामीले पनि काम गर्नुपर्छ। त्यतिले मात्रै पुग्दैन।’ संवाद त्यसपछि क्रिकेट प्रशिक्षण र खेलकुदको विषयमा मोडिएको सुनिन्छ।

श्रीरामको स्पष्टीकरण

सांसदहरूबीचको राजनीतिक संवाद सार्वजनिक भएपछि श्रीराम न्यौपानेले शुक्रबार राति फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

उनले उक्त कुराकानीलाई अनौपचारिक छलफलका रूपमा व्याख्या गर्दै जनताले दिएको मत र विश्वास कामबाट प्रमाणित गर्नुपर्ने बताएका छन्।

न्यौपानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण रास्वपाले अत्यधिक मत पाएको उल्लेख गरेका छन्।

एमाले अध्यक्ष ओली र नेता महेश बस्नेत थप आक्रामक रूपमा राजनीतिक मैदानमा उत्रिँदा पुराना दलहरूप्रतिको असन्तुष्टि कायम रहन सक्ने हिसाब उनीहरूले निकालेका छन्। 

जनताले दिएको अभूतपूर्व अवसरलाई सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिएर सदुपयोग गर्नुपर्ने उनको मत छ। त्यसो गर्न नसके रास्वपाले पनि विगतका राजनीतिक दलहरूले जस्तै जनविश्वासको संकट सामना गर्नुपर्ने अवस्था आउन सक्ने टिप्पणी उनको छ।

‘जनताले दिएको यो अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिन सक्नुपर्छ। जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्‍याउन सकेनौँ भने आगामी निर्वाचनमा हामीले पनि विगतका राजनीतिक दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले लेखेका छन्।

उनले सांसदहरूबीचको अनौपचारिक छलफलको मूल निष्कर्ष पनि जनताको विश्वास कामबाट प्रमाणित गर्नुपर्ने रहेको दाबी गरेका छन्।

‘हाम्रो अनौपचारिक छलफल र संवादको मूल निष्कर्ष यही थियो– जनताले दिएको मत र विश्वास स्थायी होइन; त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्छ। यथार्थ पनि यही नै हो,’ न्यौपानेले भनेका छन्।

पुराना दलको कमजोरीबाट लाभ

सार्वजनिक संवादमा सांसदहरूले कांग्रेसको नेतृत्व विवाद र एमालेका नेताहरूको राजनीतिक सक्रियतालाई रास्वपाका लागि सम्भावित अवसरका रूपमा विश्लेषण गरेको देखिन्छ।

कांग्रेसमा शेरबहादुर देउवा र गगन थापा पक्षबीचको नेतृत्व तथा आधिकारिकताको विवादलाई उनीहरूले नजिकबाट नियालिरहेको संवादबाट बुझिन्छ। देउवाले पार्टीको आधिकारिकता पाए आफूहरूलाई राजनीतिक रूपमा फाइदा पुग्ने आशय पनि कुराकानीमा व्यक्त भएको छ। यसको अर्थ अहिले रास्वपाले सबैभन्दा चुनौती कांग्रेस सभापति गगन थापाहरूबाट पाइरहेकाले देउवा आए प्रमुख प्रतिपक्षी कमजोर हुने उनीहरूले हिसाब गरेका छन् ।

त्यस्तै, एमाले अध्यक्ष ओली र नेता महेश बस्नेत थप आक्रामक रूपमा राजनीतिक मैदानमा उत्रिँदा पुराना दलहरूप्रतिको असन्तुष्टि कायम रहन सक्ने हिसाब उनीहरूले निकालेका छन्। त्यसबाट रास्वपालाई अर्को चुनावमा पनि लाभ पुग्न सक्ने उनीहरूको आकलन देखिन्छ।

तर, संवादमा सांसदहरूले यस्तो राजनीतिक लाभ मात्रै पर्याप्त नहुने पनि स्वीकार गरेका छन्। जनताले दिएको मतलाई टिकाइराख्न आफ्नै पार्टीले काम गरेर देखाउनुपर्ने उनीहरूको निष्कर्ष छ।

यो प्रसंग रास्वपाका लागि पनि महत्त्वपूर्ण छ। पुराना दलहरूको कार्यशैलीप्रतिको असन्तुष्टिबाट राजनीतिक उचाइ हासिल गरेको पार्टीका लागि अब जनअपेक्षाअनुसार परिणाम दिनु मुख्य चुनौती बनेको छ।

गत वर्षको जेन-जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार र राजनीतिक जवाफदेहिताको माग बलियो बनेको थियो। यही जनमतलाई आफ्नो पक्षमा पार्दै रास्वपा सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको हो।

त्यसैले पुराना दलको विवाद र कमजोरीबाट मात्रै राजनीतिक लाभ लिने अवस्था सधैँ नरहने सांसद न्यौपानेको स्पष्टीकरणको आशय छ। तर उनीहरूले आफ्नो सरकारले राम्रो काम नगरे पुरानै दलको अवस्थामा पुग्ने कुरा भने स्वीकारेका छन्।

चीन भ्रमणमा २० सदस्यीय टोली

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाको २० सदस्यीय टोली चीन भ्रमणमा छ। महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गते चीन गएको हो।

भ्रमण टोलीमा सांसद श्रीराम न्यौपाने, कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटा, सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित पार्टीका नेता तथा सांसद सहभागी छन्।

टोलीले छेन्दु र बेइजिङलगायत चीनका विभिन्न स्थानमा प्रविधि, औद्योगिक विकास, सुशासन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका अभ्यासबारे अध्ययन तथा अवलोकन गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट तथा राजनीतिक र विकाससम्बन्धी अनुभव आदानप्रदान गर्ने कार्यक्रमसमेत राखिएको छ।

भ्रमणको औपचारिक उद्देश्य चीनको विकास अनुभव, प्रविधि र शासन सञ्चालनका अभ्यासबाट सिक्नु भए पनि सांसदहरूको राजनीतिक संवाद फेसबुकमा सार्वजनिक भएपछि नयाँ पुराना सबै दलको नेतृत्वमा तरङ्ग ल्याएको छ।