दाङ – नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १ जना नेपाली र ४ जना भारतीय नागरिक रहेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार होटलको तेस्रो तलामा रहेका २०३ र २०४ नम्बरका कोठा भाडामा लिएर अनलाइन सट्टेबाजीका प्लेटफर्म सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले बिहीबार साँझ करिब ७:३० बजे खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा उनीहरू ‘कुस ७७७’ लगायतका अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी कारोबार गरिरहेको अवस्थामा फेला परेका थिए ।
प्रहरीले सट्टेबाजीमा प्रयोग भएका २ थान डेस्कटप कम्प्युटर, ३ थान ल्यापटप र १३ थान मोबाइल फोन गरी १८ थान विद्युतीय उपकरणसमेत बरामद गरेको छ ।
पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया