काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध राम्रो सुरुवात गरेको लुम्बिनी लायन्सलाई चौथो विकेट गुमाउँदा झट्का लागेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी फाइनलमा लुम्बिनीले १५ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १०८ रन बनाएको छ । कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भएपछि सुदूरपश्चिमले राहत महसूस गरेको छ ।
लुम्बिनीले सुरुवाती ओभरमा राम्रो ब्याटिङ गर्दै सुदूरपश्चिममाथि दबाब बनाएको थियो । तर रोहितको विकेट गुमाएपछि टोलीको रन गति र ब्याटिङ संयोजनमा प्रभाव परेको छ ।
अहिले दिलीप नाथ २६ रन बनाएर क्रिजमा छन् भने सन्दीप जोरा ब्याटिङका लागि आएका छन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका छन् ।
यसअघि टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो दिएका थिए ।
एनपीएल इतिहासमा दुवै टोली लगातार दोस्रोपटक फाइनलमा आमनेसामने भएका हुन् । लुम्बिनी साविक विजेता हो भने सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ ।
लुम्बिनीले यस संस्करणको लिग चरणमा ७ खेलबाट ५ जीत, १ हार र १ खेल वर्षाका कारण रद्द हुँदा ११ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो । सुदूरपश्चिम ५ जीत र २ हारसहित १० अंक जोडेर दोस्रो भएको थियो ।
यस संस्करणमा यी २ टोलीबिच भएका दुवै प्रतिस्पर्धामा लुम्बिनीले बाजी मारेको छ । लिग चरणको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो भने क्वालिफायर–१ मा ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

सुदूरपश्चिमले क्वालिफायर–२ मा चितवन राइनोजलाई हराउँदै लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको हो । पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक पहिलो उपाधि जित्ने लक्ष्यमा छ ।
लुम्बिनी भने लगातार दोस्रोपटक उपाधि जित्दै एनपीएलमा आफ्नो वर्चस्व कायम राख्न चाहन्छ ।



प्रतिक्रिया