आफ्नै दलका सांसद केपी खनालसँग रिसाइन् आशिका तामाङ, फोन नउठाएकोमा फेसबुकबाटै असन्तुष्टि

आफ्नै दलका सांसद केपी खनालसँग रिसाइन् आशिका तामाङ, फोन नउठाएकोमा फेसबुकबाटै असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आफ्नै पार्टीका अर्का सांसद केपी खनालसँग असन्तुष्ट बनेकी छन्।

जनताको एउटा मुद्दाका विषयमा छलफल गर्न फोन गर्दा खनालले सामान्य फोन नउठाउने र ह्वाट्सएपबाट मात्रै सम्पर्क गर्नुपर्ने जवाफ पाएपछि तामाङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन्।

धादिङ–१ बाट निर्वाचित तामाङले कैलाली–२ का सांसद खनाललाई एउटा जनमुद्दाका विषयमा कुरा गर्न फोन गरेको बताएकी छन्। तर, खनालका स्वकीय सचिवले फोन उठाएर ह्वाट्सएपबाट सम्पर्क गर्न आग्रह गरेको उनको भनाइ छ।

तामाङले फेसबुकमा लेखेकी छन्, ‘मा. केपी खनाल भाइलाई एउटा जनमुद्दा लिएर फोन गरेको थिएँ। उहाँको स्वकीयले फोन उठाउनुभयो। खै ! भाइ केपी खनाल भाइलाई फोन दिनुस् भनेको त ह्वाट्सएपमा कल गर्नुस्, ह्वाट्सएपबाहेक अरूमा कल उठाउनुहुन्न रे !’

उनले जनताबाट निर्वाचित सांसदसँग आफ्नो कुरा राख्न पनि इन्टरनेट आवश्यक पर्ने अवस्थाप्रति आश्चर्य व्यक्त गरेकी छन्। ‘जनताबाट निर्वाचित सांसदले कुरा गर्न पनि इन्टरनेट चाहिने भए सर्वसाधारणले आफ्ना गुनासा कसरी सुनाउने ?’

‘म त तीन छक्क परेँ। अरे, एउटा जनताबाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न कम्युनिकेसन गर्न नेट चाहिँदो रहेछ भने जो सर्वसाधारण नागरिक, जो टुकटुके मोबाइल चलाउनुहुन्छ, ती गरिब निमुखाले आफ्नो नेतासम्म गुनासो कसरी पुर्‍याउन सक्नुहुन्छ ?’ उनले प्रश्न गरेकी छन्।

तामाङले सामान्य मोबाइल प्रयोग गर्ने सर्वसाधारण नागरिकले पनि आफ्ना जनप्रतिनिधिसँग सहज रूपमा सम्पर्क गर्न पाउनुपर्ने आशय व्यक्त गरेकी छन्। जनताको समस्या सुन्ने र उनीहरूसँग सम्पर्कमा रहने विषयमा सांसदहरू गम्भीर हुनुपर्ने उनको भनाइ छ।

आशिका तामाङ र केपी खनाल दुवै रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। तामाङ धादिङ–१ बाट र खनाल कैलाली–२ बाट निर्वाचित भएका हुन्। दुवै सांसद पहिलो पटक प्रतिनिधिसभामा पुगेका हुन्।

तामाङ र खनाल दुवै संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिकी सदस्य हुन् । खनाल कार्यविधि मस्यौदा उपसमितिका संयोजकसमेत छन्।

सामाजिक अभियन्ताका रूपमा परिचित तामाङ पछिल्लो समय संसद्मा जनसरोकारका विषय उठाउँदै आएकी छन्। यसअघि कम्बोडियामा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउने विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले संसद्मा समेत प्रश्न उठाएकी थिइन्।

त्यस क्रममा परराष्ट्रमन्त्रीसँग थप प्रश्न गर्न नपाएपछि उनी संसद् बैठकबाट बाहिरिएकी थिइन्।

यता सांसद खनाल पनि विभिन्न सार्वजनिक तथा संसदीय गतिविधिमा सक्रिय रहँदै आएका छन्। यसअघि कैलालीमा नागरिकसँगको छलफलका क्रममा उनको अभिव्यक्तिलाई लिएर पनि सार्वजनिक बहस भएको थियो।