नयाँदिल्ली- प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता सुरु भएको छ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री मोदीले सोमबार हैदरावाद हाउस परिसरमा औपचारिक स्वागत गरेलगत्तै दुई नेताबीच द्विपक्षीय वार्ता सुरु भएको हो।
स्वागतका क्रममा दुवै प्रधानमन्त्रीबीच संक्षिप्त भलाकुसारी तथा शिष्टाचार अभिवादन आदानप्रदान भएको थियो।
त्यसपछि उनीहरू एक्लाएक्लै वार्तामा बसेका हुन्। यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच पनि छलफल हुने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धका विद्यमान समस्या समाधान गर्दै द्विपक्षीय सहकार्यलाई नयाँ गति दिने अवसरका रूपमा हेरिएको छ। विशेषगरी हवाई रुट, सीमा विवाद, ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार विकास र बाढीपहिरोपछि पुनर्निर्माणका विषय नेपालका प्राथमिकतामा छन्।
तर, भ्रमणअघि भएका कूटनीतिक तथा प्राविधिक तहका छलफलमा नेपालले माग गर्दै आएको थप हवाई प्रवेशमार्गका विषयमा भारतसँग सहमति जुट्न सकेको छैन।
नेपालको अन्तर्राष्ट्रिय हवाई उडानलाई सहज बनाउन भैरहवा र महेन्द्रनगर क्षेत्रबाट थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन नेपालले भारतसँग आग्रह गर्दै आएको छ। भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको वार्तामा पनि यसबारे सहमति जुटेको थिएन।
विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालन तथा अन्तर्राष्ट्रिय उडान विस्तारका लागि थप हवाई प्रवेशमार्ग महत्वपूर्ण मानिएको छ। तर, यस विषयमा दुई देशबीच अझै समझदारी बन्न सकेको छैन।
हवाई रुटको विषयमा प्रवेशमार्गको उचाइलाई लिएर समेत मतभेद देखिएको छ। भारतीय पक्षले ३९ हजार फिट उचाइबाट विमान प्रवेश गर्न सकिने प्रस्ताव गरेको छ भने नेपालले करिब २९ हजार फिटमा झार्नुपर्ने अडान राखेको छ।
नेपालले पश्चिमी क्षेत्रको एल–६२६ हवाई मार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन पनि आग्रह गर्दै आएको छ। अहिले उक्त मार्गबाट अन्तर्राष्ट्रिय विमान नेपालबाट बाहिरिन सक्ने भए पनि सोही मार्ग हुँदै नेपाल प्रवेश गर्न पाउँदैनन्।
भैरहवा र महेन्द्रनगरबाट थप हवाई प्रवेशमार्ग दिने विषयमा अझै सहमति जुटेको छैन, द्विपक्षीय वार्तामा यो विषय पनि उठ्ने अपेक्षा
नेपालले भैरहवा, नेपालगञ्ज, महेन्द्रनगर र जनकपुर क्षेत्रबाट थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको छ।
तर, भारतले सैन्य विमानसमेत प्रयोग गर्न सक्ने गरी बागडोगरा प्रवेशमार्गको विषय अघि सारेपछि छलफल थप जटिल बनेको छ। नेपालले भने उक्त मार्गबाट नागरिक विमानलाई मात्रै अनुमति दिन सकिने धारणा राख्दै आएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा हवाई रुटको विषयलाई महत्वपूर्ण मुद्दाका रूपमा अघि सारिएको भए पनि दुवै पक्षबीच सहमति जुट्ने निश्चित भइसकेको छैन।
त्यसैले मोदीसँगको एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय वार्तामा यस विषयले कस्तो स्थान पाउँछ भन्ने चासो छ।
यसका अतिरिक्त नेपालले गत अगस्ट २६ मा आएको बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि भारतसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण सहयोगको प्रस्ताव गरेको छ।
यसमा भारतले सकारात्मक संकेत दिएको बताइएको छ। भारतले करिब डेढ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग घोषणा गर्न सक्ने चर्चा पनि छ।
दुई प्रधानमन्त्रीबीचको वार्तामा ऊर्जा सहकार्य, व्यापार, पारवहन, लगानी, पूर्वाधार विकास र सीमा समस्याका विषयमा पनि छलफल हुने अपेक्षा छ। भ्रमणका क्रममा विभिन्न समझदारीपत्र आदानप्रदान तथा विकास परियोजनाको उद्घाटन गर्ने कार्यक्रमसमेत छ।
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका थिए। भ्रमणका क्रममा उनले आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरिसकेका छन्।
सोमबार बिहान राष्ट्रपति भवनमा उनलाई औपचारिक सम्मान गारदसमेत प्रदान गरिएको थियो। उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली पनि अर्पण गरेका थिए।
हैदरावाद हाउसमा सुरु भएको मोदीसँगको वार्तापछि प्रतिनिधिमण्डलस्तरीय छलफल, सम्झौतामा हस्ताक्षर तथा संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम छ। प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।



प्रतिक्रिया