काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारत भ्रमणमा जाँदा विमानस्थलको सुरक्षा प्रोटोकल उल्लंघन गरेको भन्दै चर्को आलोचना खेपेका कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ यसपटक भने चम्किलो रिफ्लेक्टिभ ज्याकेट लगाएर प्रधानमन्त्री शाहको स्वागतमा विमानस्थल पुगेका छन् ।
प्रधानमन्त्री शाह भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा सोमबार राति श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जहाज पार्किङ क्षेत्र (एप्रोन एरिया) मा र्याम्प ज्याकेट लगाएर स्वागतका लागि पुगेका हुन् ।
यसअघि मंसिर ६ गते प्रधानमन्त्री शाह भारत भ्रमणमा जाँदा उनलाई बिदाइ गर्न विमानस्थल पुगेका श्रेष्ठले त्यही एप्रोन क्षेत्रमा र्याम्प ज्याकेट लगाएका थिएनन् ।
त्यतिबेला उनी कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा थिए । उनीसँगै गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता जगदीश खरेल पनि र्याम्प ज्याकेटविनै जहाज पार्किङ क्षेत्रमा पुगेका थिए ।
प्रधानमन्त्रीलाई बिदाइ गर्ने क्रममा सरकारी उच्चपदस्थ व्यक्ति र सत्तारूढ दलका प्रवक्ताले नै विमानस्थलको सुरक्षा नियम पालना नगरेको भन्दै त्यसबेला चर्को आलोचना भएको थियो । विशेषगरी कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको भूमिकालाई लिएर प्रश्न उठेको थियो ।
विमानस्थलको जहाज पार्किङ क्षेत्र सामान्य आगमन तथा प्रस्थान क्षेत्रभन्दा फरक र संवेदनशील मानिन्छ । त्यहाँ जहाजको आवागमन, यात्रु चढाउने तथा ओराल्ने र ग्राउन्ड ह्यान्डलिङका काम भइरहने भएकाले विशेष सुरक्षा सतर्कता अपनाउनुपर्ने हुन्छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सुरक्षा व्यवस्थासम्बन्धी मापदण्ड तथा नेपालको नागरिक उड्डयनसम्बन्धी प्रोटोकलअनुसार जहाज पार्किङ क्षेत्रमा जाने यात्रु र चालक दलका सदस्यबाहेक अन्य व्यक्तिले विमानस्थलबाट जारी गरिएको प्रवेश पास र हाई भिजिबिलिटी रिफ्लेक्टिभ सेफ्टी ज्याकेट लगाउनुपर्ने व्यवस्था छ ।
यस्तो ज्याकेटलाई सामान्यतया र्याम्प ज्याकेट भनिन्छ । जहाज र अन्य सवारीसाधनको आवागमन भइरहने क्षेत्रमा सम्बन्धित व्यक्तिलाई टाढैबाट देख्न सकियोस् र सम्भावित दुर्घटना रोक्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
नियम सामान्य व्यक्ति मात्र नभई प्रधानमन्त्री, मन्त्री तथा अन्य विशिष्ट व्यक्तिका हकमा पनि समान रूपमा लागू हुने विमानस्थलका अधिकारीहरूले बताउँदै आएका छन् ।
यसअघि २०७९ फागुन २४ गते नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारी पनि र्याम्प ज्याकेट नलगाई एप्रोन क्षेत्रमा पुगेका थिए ।
त्यसलाई हवाई सुरक्षा प्रोटोकल उल्लंघन मान्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीमाथि कारबाही गरेको थियो । प्राधिकरणले १ रुपैयाँ जरिवाना गरेपछि निगममा उनको ‘एकाउन्टेबल म्यानेजर’ पदसमेत गुमेको थियो ।
त्यतिबेला सामान्य कर्मचारी तथा पदाधिकारीलाई समेत सुरक्षा नियम उल्लंघन गर्दा कारबाही हुने गरेको उदाहरण सार्वजनिक भइरहेका बेला मन्त्रीहरूले नै नियम पालना नगरेको भन्दै आलोचना भएको थियो ।
प्रधानमन्त्री शाहलाई भारत भ्रमणमा बिदाइ गर्न पुग्दा र्याम्प ज्याकेट नलगाएका श्रेष्ठ त्यही संवेदनशील क्षेत्रमा ज्याकेट लगाएर उपस्थित भएका थिए ।




प्रतिक्रिया