बालेनको भारत भ्रमण : तीन पूर्वपरराष्ट्रमन्त्रीले देखेका उपलब्धि र कमजोरी

बालेनको भारत भ्रमण : तीन पूर्वपरराष्ट्रमन्त्रीले देखेका उपलब्धि र कमजोरी

भनेजस्तो फलदायी भएन, कूटनीतिक प्रश्न यथावत्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दुईदिने भारत भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह सोमबार साँझ स्वदेश फर्किएका छन्। करिब साढे २५ घण्टे भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकर, समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति द्रौपती मूर्मूसँग द्विपक्षीय भेटवार्ता गरे।

दुई देशबीच लामो समयदेखि चर्चामा रहेका विकास आयोजना, ऊर्जा, व्यापार, पारवहन र हवाई सम्पर्कका विषयमा सहमति तथा समझदारी भएका छन्। केही आयोजनाको उद्घाटन र शिलान्याससमेत गरिएको छ।

प्रधानमन्त्री बालेनको पहिलो भारत भ्रमणलाई लिएर अहिले राजनीतिक वृत्तमा फरक-फरक धारणा सार्वजनिक भइरहेका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले भ्रमणलाई सफल र उपलब्धिमूलक भनेका छन्। उता प्रमुख प्रतिपक्षी दलसहित अन्य दलका नेताहरूले अपेक्षाअनुसार उपलब्धि हुन नसकेको टिप्पणी गरेका छन्।

रास्वपाका पूर्वमहामन्त्री भूपदेव शाह प्रधानमन्त्रीको भारत भ्रमण सफल र फलदायी रहेको बताउँछन्। प्रवक्ता जगदीश खरेलले पनि भ्रमणका क्रममा भएका प्रगति हेर्दा यसलाई सफल मान्नुपर्ने बताएका छन्। यद्यपि, पार्टीले भ्रमणबारे औपचारिक संस्थागत धारणा सार्वजनिक गरिसकेको छैन।

अर्कोतर्फ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलगायत नेताहरूले भ्रमण अपेक्षाअनुसार फलदायी हुन नसकेको टिप्पणी गरेका छन्। उनीहरूको मुख्य प्रश्न छ, प्रधानमन्त्रीले भारतसँग उठाउनुपर्ने सीमा विवादसहितका राजनीतिक र कूटनीतिक मुद्दा किन उठाएनन् ?

विशेषगरी भारतद्वारा मिचिएको कालापानी, लिम्पियाधुरा र लिपुलेकको विवाद, सुस्ताको सीमा अतिक्रमण समस्या, सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र नेपालको बढ्दो व्यापार घाटाजस्ता विषयमा प्रधानमन्त्री शाहले समकक्षीसमक्ष स्पष्ट अडान राख्न नसकेको विपक्षीहरूको आरोप छ।

रोचक त के छ भने, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा निस्कँदा बालेनले नै लिपुलेक नेपालको भूमि भएको भन्दै चिनियाँ नेतृत्वसँग कुरा उठाउन सार्वजनिक रूपमा आग्रह गरेका थिए।

तर, प्रधानमन्त्री बनेर भारत भ्रमणमा जाँदा उनले त्यही विषय भारतीय समकक्षीसमक्ष किन उठाएनन् भनेर विपक्षीहरूले सोधिरहेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि बालेनको विगतको अभिव्यक्ति र अहिलेको व्यवहारबीचको अन्तरलाई प्रश्न गरेका छन्।

काठमाण्डु महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर चर्चामा आएका बालेनले प्रधानमन्त्री बनेपछि भारतसँगको वार्तामा सीमा विवादलाई प्राथमिकतामा नराखेको भन्दै नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रश्न उठाएका छन्।

नेपाल र भारतका प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा सीमा विवाद र नेपालको चुच्चे नक्साबारे स्पष्ट उल्लेख नहुनुलाई विपक्षीहरूले पुरानै भ्रमणको निरन्त भनेका छन्। दुई देशबीचको सम्बन्धमा नयाँपन ल्याउने र वर्षौंदेखि थाती रहेका विवाद समाधानको प्रक्रिया अघि बढाउने अपेक्षा पूरा नभएको उनीहरूको भनाइ छ।

तर, पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वराजदूतहरू भने भ्रमणको समग्र मूल्याङ्कन गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयले वार्ताको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने बताउँछन्। उनीहरू दुई प्रधानमन्त्रीबीच बन्द कोठामा भएका छलफलका विषय, राखिएका अडान, एजेन्डा र समझदारीबारे नेपाली जनतालाई जानकारी दिनु आवश्यक रहेको बताउँछन्।

प्रधानमन्त्री शाहको भ्रमणमा भएका सहमति कागजमा सीमित हुन्छन् या कार्यान्वयनमा जान्छन् भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। विशेषगरी काठमाण्डु-भैरहवा-लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिलाई सकारात्मक मानिए पनि त्यसको प्राविधिक र व्यावहारिक कार्यान्वयनबारे स्पष्टता आउन बाँकी नै छ।

    प्रधानमन्त्री शाहको भ्रमणमा भएका सहमति कागजमा सीमित हुन्छन् या कार्यान्वयनमा जान्छन् भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।

यसै सन्दर्भमा काठमाण्डुपाटीले पूर्वपरराष्ट्रमन्त्रीहरू विमला राई पौड्याल, एनपी साउद र उपेन्द्र यादवसँग प्रधानमन्त्री शाहको भारत भ्रमणका उपलब्धि, कमजोरी र आगामी कूटनीतिक प्राथमिकताबारे कुराकानी गरेका छौँ। उनीहरू पनि भ्रमणलाई पूर्णतः असफल भन्दैनन्। तर प्रधानमन्त्रीले दाबी गरेजस्तो उपलब्धिमूलक र परिणाममुखी पनि नदेखिएको उनीहरूको तर्क छ।

‘राजनीतिक र कूटनीतिक विषय नै उठेन, पुरानै भ्रमणको निरन्तरता भयो’

विमला राई पौड्याल, पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेतृ

प्रधानमन्त्री शाहको भारत भ्रमणबाट धेरै उत्साहित हुने अवस्था देख्दिनँ। अलिअलि खर्च जुटाएर फर्किएको जस्तो भएको छ। टनकपुर विवाद र सीमा समस्याका विषय नउठ्नुले भ्रमणप्रति उत्साहित हुने ठाउँ रहेन।

सार्क मुलुकको अध्यक्षमण्डलमा रहेको हिसाबले नेपालले सार्कलाई पुनर्जीवित गर्ने विषय पनि उठाउन सक्थ्यो। सार्क सम्मेलन नभएको धेरै वर्ष भइसक्यो। त्यसलाई अघि बढाउने पहल हुनुपर्थ्यो। त्यो पनि छुट्यो।

जुन तरिकाले प्रधानमन्त्री वालेन्द्र शाहले कुनै बेला चुच्चे नक्सा फर्काउँछौँ, ग्रेटर नेपाल बनाउँछौँ भन्नुभएको थियो, त्यो मुख्य विषय नै नउठ्दा उत्साहित हुने अवस्था रहेन। अहिले नै समस्या समाधान हुने थिएन होला, तर कम्तीमा विषय त उठाउन सकिन्थ्यो। पुराना प्रतिवेदन पनि लथालिङ्ग छन्। तिनलाई के गर्ने भन्ने विषय पनि नेपालले यस पटक उठाउन सकेन।

समग्रमा आर्थिक सहयोग जुटाउने विषय मात्रै प्राथमिकतामा परेको जस्तो देखियो। पैसा त हामीलाई चाहिन्छ, त्यो सकारात्मक पक्ष हो। तर प्रधानमन्त्रीको भ्रमणमा राजनीतिक र कूटनीतिक विषयले प्राथमिकता पाउनुपर्थ्यो। अरू मन्त्रीहरूले सहयोग जुटाउने र सहमति गर्ने विषय हुन्छन्। प्रधानमन्त्रीले भने राजनीतिक तहमा कुरा गरेर गाँठो परेका विषय फुकाउने हो।

काठमाण्डु महानगरपालिकाको मेयर हुँदा उहाँले लिपुलेक र कालापानी हाम्रै हो भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली २०८२ भदौ दोस्रो साता चीन भ्रमणमा यो विषय उठाउन सुझाउनुहुन्थ्यो। तर आफैँ प्रधानमन्त्री भएर भारत जाँदा भने त्यो विषय बिर्सनुभयो।

भारत हाम्रो ठूलो व्यापारिक साझेदार हो। तर हामीले भारतबाट ठूलो मात्रामा सामान आयात गरिरहेका छौँ। त्यसरी नै निर्यात बढाउनुपर्छ भन्ने विषयमा पनि छलफल हुनुपर्थ्यो।

पुराना प्रधानमन्त्रीहरूको भ्रमणमा कम्तीमा राजनीतिक विषय वार्ताको टेबलमा उठ्थे। परिणाम नआए पनि कुरा त हुन्थ्यो। यसपटक त्यही कुरा पनि नहुनु निराशाजनक हो।

भ्रमणमा भएका सहमति कसरी कार्यान्वयन हुन्छन् भन्ने पक्ष पनि हेर्नुपर्छ। सहमति हुने तर कार्यान्वयन नहुने अवस्था विगतमा पनि देखिएको छ। ऋण आएको छ, तर कसरी र कुन क्षेत्रमा खर्च हुन्छ भन्ने स्पष्ट हुनुपर्छ। हवाई रुटको विषयमा भएको सहमति भने सकारात्मक छ। त्यसलाई कार्यान्वयनमा लैजानुपर्छ।

जलवायु परिवर्तनको विषयमा पनि नेपाल, चीन र भारतबीच त्रिपक्षीय संयन्त्र बनाएर अनुगमन, तथ्याङ्क तथा सूचना आदानप्रदान गर्ने पहल गर्न सकिन्थ्यो। हिमालय क्षेत्रको जलवायु परिवर्तनले तीनवटै देशलाई असर गरिरहेको छ। यस्तो विषयमा पनि सहकार्यको पहल हुन सकेको भए राम्रो हुन्थ्यो।

‘प्रधानमन्त्रीले दाबी गरेजस्तो फलदायी भएन’

एनपी साउद, नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री

लामो समयपछि प्रधानमन्त्रीको भारत भ्रमण सम्पन्न हुनु खुसीको कुरा हो। नेपाल-भारत निरन्तर सञ्चालनमा रहेका विकास आयोजनाको उद्घाटन र शिलान्यास भएका छन्। अयोध्या-जनकपुर रेलसेवा पनि सुरु भएको छ। लामो समयदेखि सहमतिको प्रक्रियामा रहेको तल्लो अरुण आयोजनाका विषयमा भएको प्रगतिलाई सकारात्मक रूपमा लिनुपर्छ।

अहिले भैरहवाका विषयमा ब्रेकथ्रु भएको भन्ने आएको छ। यसको विस्तृत जानकारी भने आइसकेको छैन। काठमाण्डु-भैरहवा-लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको हो भने त्यो सकारात्मक हो। तर त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने विवरण आउन बाँकी छ।

यो भ्रमण दुई देशका प्रधानमन्त्रीबीचको सौहार्दपूर्ण भ्रमण पनि हो। कुनै विवाद सार्वजनिक रूपमा नआउनु र दुई देशबीचको मित्रतालाई अगाडि बढाउनु सकारात्मक पक्ष हो। तर पञ्चेश्वर र अन्य आयोजनासँगै सीमा विवादका विषयमा ठोस प्रगति हुन नसक्नु चुनौती हो।

समग्रमा भ्रमण सकारात्मक छ। तर प्रधानमन्त्रीले भ्रमणअघि जति गर्छु, यस्तो गर्छु र उस्तो गर्छु भन्नुभएको थियो, उहाँको बोलीअनुसार उपलब्धि हासिल भएको देखिँदैन। पुराना आयोजनाले निरन्तरता पाएका छन् र केही ऋण तथा अनुदानका विषय आएका छन्। भैरहवाको हवाई रुटको विषयमा विस्तृत जानकारी आएपछि त्यसबारे थप मूल्याङ्कन गर्न सकिन्छ।

हामीले उत्साहित हुनुपर्ने अवस्था के हुँदा हुन्थ्यो भने सीमा विवाद, चुच्चे नक्सा र हाम्रा विभिन्न संयन्त्रलाई सक्रिय बनाउने विषयमा पनि राजनीतिक तथा कूटनीतिक संवाद भएको भए हुन्थ्यो। त्यसको संकेत देखिएको छैन।

प्रधानमन्त्रीको दाबीअनुसार फलदायी नभएको पूर्वप्रधानमन्त्री तथा कूटनीतिज्ञहरूको टिप्पणी, राजनीतिक र कूटनीतिक मुद्दा उठाउन नसकेको आरोप

सीमा विवादलाई राजनीतिक एजेन्डा बनाएर आन्तरिक खपतको विषय बनाउनुभन्दा कूटनीतिक वार्ता र माध्यमबाट छलफल गरिनुपर्छ। त्यसका लागि सम्बन्धित संयन्त्रलाई सक्रिय बनाइदिएको भए राम्रो हुन्थ्यो।

प्रधानमन्त्रीहरूबीच एक्लाएक्लै के-के कुराकानी भयो भन्ने सबै विवरण बाहिर आएको छैन। ती कुरा सार्वजनिक भएपछि भ्रमणको उपलब्धिबारे थप टिप्पणी गर्न सकिन्छ।

‘हौसिने अवस्था छैन, पुरानै परम्पराको निरन्तरता’

उपेन्द्र यादव, पूर्वपरराष्ट्रमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष

पहिला अन्य प्रधानमन्त्रीहरूको भारत भ्रमण जुन किसिमको हुने गरेको थियो, अहिलेको भ्रमण पनि त्यस्तै भयो। धेरै उत्साहित हुने वा हौसिने अवस्था छैन।

प्रधानमन्त्रीले अरू प्रधानमन्त्री भारत जाँदा यी विषय उठाउनुपर्छ भनेर माग गर्नुहुन्थ्यो। तर आफू प्रधानमन्त्री भएर जाँदा त्यहीअनुसार काम गर्न सक्नुभएन। पुरानो परम्परालाई नै अहिलेका प्रधानमन्त्रीले निरन्तरता दिनुभयो।

हवाई रुटको सन्दर्भमा पनि पहिलाका प्रधानमन्त्रीहरू भारत जाँदा प्रचार खुबै हुन्थ्यो, तर प्रगति शून्य देखिन्थ्यो। यसपटक त्यसमा ब्रेकथ्रु भएको हो भने त्यसको परिणाम देखिनुपर्छ।

मुख्य कुरा सीमा विवादमा कुनै छलफल नै भएन। नेपालको व्यापार घाटा कम गर्ने विषयमा पनि कुरा उठेको देखिएन। भारतीय लगानी नेपालमा भित्र्याउने सम्भावनाका विषयमा पनि अपेक्षित प्रगति भएको देखिँदैन।

तथापि, बाढीबाट क्षति भएका क्षेत्रको पुनर्निर्माणका लागि भारतले करिब दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहायता दिने घोषणा गर्नु ठूलो उपलब्धि हो। यसलाई सकारात्मक मान्नुपर्छ। मिलाएर हेर्दा भ्रमण ठीकै भएको भन्न सकिन्छ, तर पूरै हौसिने वा साह्रै राम्रो भयो भन्ने अवस्था छैन।

नेपाल र भारतबीच राजनीतिक सहमति गर्न बाँकी धेरै विषय छन्। तिनलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने काम हुन सकेको छैन। दुई देशबीचका मुद्दा कूटनीतिक च्यानलबाटै समाधान हुने हुन्। तर हाम्रा विभिन्न संयन्त्र धेरै वर्षदेखि सक्रिय हुन सकेका छैनन्।

प्रधानमन्त्रीले भ्रमणका क्रममा ती संयन्त्रलाई परिचालन गरेर सक्रिय बनाइदिएको भए पनि धेरै आशावादी हुने अवस्था रहन्थ्यो। सीमा विवादलगायतका विषयमा नयाँ पहल नहुनु नै भ्रमणको कमजोरी हो।

उपलब्धि कति, अपेक्षा कति ?

तीन पूर्वपरराष्ट्रमन्त्रीका धारणालाई हेर्दा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई पूर्णतः असफल भन्न सकिने अवस्था छैन। विकास सहायता, हवाई सम्पर्क, रेलमार्ग, ऊर्जा र पूर्वाधारका क्षेत्रमा केही महत्त्वपूर्ण उपलब्धि भएका छन्। तर लामो समयदेखि थाती रहेका राजनीतिक तथा कूटनीतिक मुद्दामा अपेक्षित प्रगति हुन नसकेको उनीहरूको साझा निष्कर्ष छ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई आर्थिक सहायता र केही पूर्वाधार आयोजनाको घोषणामा मात्रै सीमित गरेर मूल्याङ्कन गर्न मिल्दैन

भ्रमणको सबैभन्दा ठूलो आर्थिक उपलब्धिका रूपमा भारतले घोषणा गरेको २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता देखिएको छ। यसमध्ये ५ हजार ६०० करोड रुपैयाँ अनुदान र १८ हजार ४०० करोड रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सहायता हो। तर यो रकम तत्काल प्राप्त हुने अनुदान होइन। कुन परियोजनामा कति रकम खर्च गर्ने र सहायता उपलब्ध गराउने प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय दुई देशबीचको थप सहमतिमा निर्भर छ।

त्यस्तै, काठमाण्डु-भैरहवा-लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति नेपालको नागरिक उड्डयन क्षेत्रका लागि महत्त्वपूर्ण छ। यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढाउन सक्छ। तर प्राविधिक अध्ययन र कार्यविधि टुङ्गिएपछि मात्रै यो सहमति कार्यान्वयनमा आउनेछ।

अयोध्या-जनकपुर सरयू-कमला एक्सप्रेस रेलसेवाको सुरुवात, रक्सौल-काठमाण्डु रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न हुनु, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र पेट्रोलियम पाइपलाइन विस्तारका सहमतिलाई पनि भ्रमणका उपलब्धिका रूपमा लिन सकिन्छ।

तर नेपालको चासो रहेका सीमा विवाद, सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, ईपीजी प्रतिवेदन कार्यान्वयन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र व्यापार घाटा न्यूनीकरणका विषयमा भने ठोस राजनीतिक प्रगति भएको देखिँदैन।

विशेषगरी संयुक्त वक्तव्यको १५औँ बुँदामा सीमा समस्या समाधानका लागि परराष्ट्र सचिवहरूलाई निर्देशन दिने पुरानै प्रतिबद्धता दोहोर्‍याइएको छ। कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताको नाम उल्लेख गरेर कुनै नयाँ सहमति भएको छैन। सन् २०१४ मा पनि यस्तै प्रतिबद्धता गरिएको थियो। त्यसैले यसपटकको सहमतिले मात्रै सीमा विवाद समाधान हुने विश्वास गर्ने आधार देखिँदैन।

अर्कोतर्फ, नेपालले भारतसँग वार्तामा राख्नुपर्ने विषयको सूची लामो छ। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। तर द्विपक्षीय व्यापारमा नेपालको व्यापार घाटा उच्च छ। ऊर्जा निर्यातको सम्भावना, पारवहन सुविधा, हवाई प्रवेश मार्ग, सीमा पूर्वाधार र जलस्रोतको उपयोगजस्ता विषयमा नेपालले स्पष्ट लाभ हासिल गर्नुपर्ने आवश्यकता छ।

यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणलाई आर्थिक सहायता र केही पूर्वाधार आयोजनाको घोषणामा मात्रै सीमित गरेर मूल्याङ्कन गर्न मिल्दैन। प्रधानमन्त्रीस्तरको भ्रमणले वर्षौंदेखि अड्किएका राजनीतिक तथा कूटनीतिक विषयलाई अघि बढाउन कस्तो भूमिका खेल्यो भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

प्रधानमन्त्रीले वार्ताका क्रममा उठाएका विषय र राखेका अडान सार्वजनिक गर्नु आवश्यक छ। बन्द कोठामा भएका सबै कुराकानी सार्वजनिक गर्न सम्भव नहोला, तर नेपाली जनताको चासो रहेका विषयमा सरकारले आधिकारिक जानकारी दिने प्रतिक्षमा नेपाली जनता बसेका छन्।