रथीमा बढुवा अनुपजंग थापालाई दर्ज्यानी चिह्न, ९ महिनापछि बन्नेछन् प्रधानसेनापति

रथीमा बढुवा अनुपजंग थापालाई दर्ज्यानी चिह्न, ९ महिनापछि बन्नेछन् प्रधानसेनापति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली सेनाका उपरथी अनुपजंग थापा रथी दर्जामा बढुवा भएका छन्।

मन्त्रिपरिषद्को गत मंसिर ४ गतेको निर्णयअनुसार बढुवा भएका थापालाई प्रधान सेनापति अशोकराज सिग्देलले सोमबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरे।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्यही कार्यक्रममा उपरथी दर्जामा बढुवा भएका सहायक रथी मनोज थापालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

त्यस्तै, सहायक रथी दर्जामा बढुवा भएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र शितल बानियाँ तथा महासेनानी दर्जामा बढुवा भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई पनि प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरे।

कार्यक्रममा नेपाली सेनाका रथी, अधिकृत तथा बढुवा भएका सैनिक अधिकारी र अधिकृतका परिवारजन उपस्थित थिए।

भावी प्रधानसेनापति

सरकारले उपरथी थापालाई मंसिर ४ को मन्त्रिपरिषद् बैठकबाट रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको भावी नेतृत्वसँग जोडिएको बढुवा निर्णय गरेको थियो। उनै थापाले मंगलबार रथीको दर्ज्यानी चिह्न लगाएसँगै भावी प्रधानसेनापति बन्ने बाटो खुलेको छ।

बहालवाला प्रधानसेनापति अशोकराज सिग्देलको तीनवर्षे कार्यकाल २०८४ भदौ २४ गते सकिँदैछ। उनी अवकाशमा गएपछि थापा प्रधानसेनापति बन्ने सम्भावित वरीयताक्रममा अगाडि रहनेछन्।

कुनै अप्रत्याशित फेरबदल नभए उनी २०८४ भदौ २५ गतेदेखि प्रधानसेनापतिको जिम्मेवारीमा पुग्न सक्नेछन्। नेपाली सेनामा अहिलेसम्म वरीयता मिचिएको छैन।

सेनामा सामान्यतया वरिष्ठता र वरीयताका आधारमा प्रधानसेनापति नियुक्त गर्ने अभ्यास छ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ।

यसरी अघि बढ्यो थापाको बढुवा प्रक्रिया

थापाको नाम गत कात्तिक ११ गते रथी पदमा बढुवाका लागि सिफारिस भएको थियो। रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बढुवा बोर्ड बैठकले उनको नाम सिफारिस गरेको थियो।

बढुवा सिफारिसप्रति चित्त नबुझे उजुरी गर्न सात दिनको समय दिँदै बोर्डले सूचना जारी गरेको थियो। उक्त प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरेको हो।

थापा नेपाली सेनाको २८ बेसिकका अधिकृत हुन्। उनी यसअघि सहायकरथीबाट उपरथीमा बढुवा भएका थिए। उपरथीमा बढुवा भएपछि उनलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सहसंयोजकको जिम्मेवारी दिइएको थियो।

प्रधानसेनापतिको दौडमा थिए थापा

थापा उपरथीमा बढुवा हुँदादेखि नै भावी प्रधानसेनापतिको सम्भावित उम्मेदवारका रूपमा हेरिएका थिए।

उनीसँगैको वरीयताक्रममा रहेका केही अधिकृतले आवश्यक तालिम तथा अन्य प्रक्रियाका कारण बढुवामा प्रतिस्पर्धा गर्न नसक्दा उनको बाटो सहज भएको थियो।

उपरथीमा बढुवाका क्रममा मधुकर कार्की पनि प्रतिस्पर्धामा थिए। तर नेशनल डिफेन्स कोर्स (एनडीसी) पूरा नगरेका कारण उनको बढुवा प्रक्रिया प्रभावित भएको थियो। नेपाली सेनामा उपरथीमा बढुवाका लागि उक्त कोर्सलाई आवश्यक योग्यताका रूपमा लिइन्छ।

थापा अमेरिकी सैनिक संस्थाहरूमा विभिन्न तालिम लिएका अधिकृत हुन्। उनले अमेरिकामा तालिम लिनुका साथै संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा पी–४ तहमा रहेर पनि काम गरेका छन्।

उनी प्रधानसेनापतिको उपसैनिक सहायक, २८ बाहिनीका बाहिनीपति तथा खरिपाटीस्थित सैनिक तालिम केन्द्रमा समेत कार्यरत रहेका थिए।