काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संगठनको आगामी कार्यभारदेखि स्थानीय निर्वाचन र विपद्पछिको पुन:स्थापनासम्मका विषयमा छलफल हुने भएको छ ।
मंगलबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि ६ वटा एजेन्डा प्रस्तुत गरेका हुन् ।
बैठकका एजेन्डामा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुन:स्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीहरूको व्यवस्थापन र नागरिक सरोकारका विषय समेटिएका छन् ।
त्यस्तै सरकारका पछिल्ला गतिविधि, स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफल र विविध विषय पनि बैठकको कार्यसूचीमा राखिएको कांग्रेसले जनाएको छ ।
बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गरेका थिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमै बस्ने मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।




प्रतिक्रिया