प्रधानमन्त्रीको भारत भ्रमण

दुई देशबीचको सम्बन्ध अब कुन दिशातर्फ अघि बढ्दैछ ?

दुई देशबीचको सम्बन्ध अब कुन दिशातर्फ अघि बढ्दैछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन शाहको भारतको पहिलो द्विपक्षीय विदेश भ्रमणको अन्त्यमा दुवै देशले आपसी सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको संकेत दिएका छन् ।

दुई देशबीचका मतभेदलाई सम्बन्धमा बाधक बन्न दिनुभन्दा पनि सहकार्य र साझेदारीलाई अगाडि बढाउने दुवै पक्षको चाहना देखिएको छ ।

सन् २०२६ मार्चमा सम्पन्न निर्वाचनमा विजय हासिल गरेका ३६ वर्षीय शाह जेन–जी आन्दोलनको पृष्ठभूमिमा सत्तामा पुगेका हुन् । उनी आफ्ना वरिष्ठ मन्त्री तथा अधिकारीहरूको टोलीसहित नोभेम्बर २२ को दिउँसो नयाँदिल्ली पुगेका थिए ।

भ्रमणको अन्त्यमा भारत र नेपालले संयुक्त वक्तव्य जारी गरे, जसलाई महत्त्वपूर्ण मानिएको छ ।

संयुक्त वक्तव्यमा २४ वटा बुँदा समेटिएका छन् । त्यसमा कनेक्टिभिटी, व्यापार तथा विकास सहायता लगायतका विषयमा महत्त्वपूर्ण घोषणा गरिएको छ । यसका अतिरिक्त भूउपग्रह सञ्चार सञ्जाल, अपराध नियन्त्रण, परम्परागत चिकित्सा पद्धति र सहरी विकासजस्ता विभिन्न क्षेत्रमा आठवटा समझदारीपत्रमा समेत हस्ताक्षर भएका छन् ।

हिमालयजस्तै बलिया सम्बन्ध

हैदराबाद हाउसमा भएको वार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई ‘विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री’ का रूपमा उल्लेख गरे । केही महिनाअघि संयुक्त राष्ट्रसंघमा दिएको शाहको सम्बोधनको प्रशंसा गर्दै मोदीले उनको दूरदृष्टिको पनि सराहना गरे ।

त्यसको जवाफमा शाहले नेपाली भाषामा सम्बोधन गर्दै भारत र नेपालबीचको सम्बन्ध अद्वितीय र बेजोड रहेको बताए । उनले दुई देशबीचको सम्बन्ध हिमालयजस्तै बलियो र महासागरजस्तै विशाल रहेको उल्लेख गरे ।

भारतका विदेश सचिव विक्रम मिस्रीका अनुसार दुवै नेताले आ–आफ्नो प्रतिनिधिमण्डलसहित औपचारिक वार्ता गरेका थिए । त्यसबाहेक दुई नेताबीच लामो समयसम्म व्यक्तिगत छलफलसमेत भएको थियो, जसमा विभिन्न द्विपक्षीय विषयमा विस्तृत कुराकानी भएको थियो ।

विशेषज्ञहरूका अनुसार यो भ्रमण भारत–नेपाल सम्बन्धमा एउटा महत्त्वपूर्ण मोड साबित हुन सक्छ । पछिल्लो करिब एक दशकमा सीमा विवाद, राजनीतिक मतभेद र भारतबाट नेपाल आउने सामानको आपूर्तिमा लगाइएको विवादास्पद नाकाबन्दीजस्ता विषयले दुई देशबीचको सम्बन्धमा केही तिक्तता पैदा गरेका थिए ।

भारतको रक्षा मन्त्रालयअन्तर्गत रहेको मनोहर पर्रिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (एमपी–आईडीएसए) की अनुसन्धानकर्ता डा. स्मृति पटनायकले बीबीसीलाई दिएको अन्तर्वार्तामा यो भ्रमण भविष्यलाई केन्द्रमा राखेर गरिएको र सकारात्मक परिणाम दिने खालको रहेको बताएकी छन् ।

उनका अनुसार दुवै देशले राष्ट्रवाद वा सुरक्षा चासोमा मात्र सीमित नरही कनेक्टिभिटी, ऊर्जा र व्यापारजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने इच्छा देखाएका छन् ।

पछिल्लो १० वर्षमा राष्ट्रवादी सोचले भारत–नेपालबीचको परम्परागत मित्रवत् सम्बन्धलाई प्रभावित पारेको भए पनि अब दुवै देश त्यो अवस्थालाई पछाडि छाडेर अघि बढ्न चाहेको उनको भनाइ छ ।

भारतका अनुसार पछिल्लो करिब १२ वर्षमा भारत र नेपालबीच राष्ट्रप्रमुख वा सरकार प्रमुख तहमा १७ वटा भ्रमण भइसकेका छन् । शाहको यो भ्रमण उक्त शृङ्खलाको १८औँ उच्चस्तरीय भ्रमण हो । यी भ्रमणमा भारतीय प्रधानमन्त्रीका नेपालका पाँचवटा भ्रमणसमेत समावेश छन् ।

दुई देशबीच के-के सहमति भयो ?

यस भ्रमणको सम्भवतः सबैभन्दा ठूलो घोषणा नेपालका लागि भारतले उपलब्ध गराउने १५ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहायता हो ।

यो प्याकेज नेपाली रुपैयाँमा करिब २४ हजार करोड (१.६ अर्ब अमेरिकी डलर) बराबर हुन्छ । संयुक्त वक्तव्यअनुसार यस सहायता प्याकेजमा ३ हजार ५०० करोड भारतीय रुपैयाँ अनुदान सहयोग समावेश छ । उक्त रकम नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पूर्वाधार परियोजनामा खर्च गरिनेछ ।

त्यस्तै, ११ हजार ५०० करोड भारतीय रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सुविधा (लाइन अफ क्रेडिट) नेपाललाई उपलब्ध गराइनेछ, जुन ऊर्जा क्षेत्रका परियोजनाको विकासमा उपयोग हुनेछ ।

भारतका विदेश सचिव मिस्रीले यसलाई नेपाललाई भारतले उपलब्ध गराएको अहिलेसम्मकै सबैभन्दा ठूलो सहायता प्याकेज बताएका छन् ।

नेपालको सामान अब भारतको गुजरातस्थित काण्डला बन्दरगाह हुँदै आयात–निर्यात गर्न सकिने र पछि ओडिशास्थित पारादीप बन्दरगाहमार्फत पनि ढुवानी गर्न सकिने घोषणा गरिएको छ ।

दुवै देशका नेताले भारतको अयोध्या र नेपालको जनकपुरबीच सञ्चालन हुने पहिलो सरयू–कमला एक्सप्रेस रेललाई हरियो झण्डा देखाएर उद्घाटन गरेका छन् ।

यसका साथै प्रस्तावित रक्सौल-काठमाण्डु विद्युतीय ब्रोडगेज रेलमार्ग परियोजनाको काम अघि बढाउने र नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा सहयोग गर्ने घोषणा पनि गरिएको छ । ऊर्जा क्षेत्र, विशेषगरी जलविद्युत् क्षेत्रमा पनि विभिन्न महत्त्वपूर्ण घोषणा भएका छन् ।

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याउनुका साथै मोदी र शाहले भर्चुअल माध्यमबाट नेपालको झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्याससमेत गरेका छन् ।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भावनाबारे अध्ययन गर्न दुवै पक्ष सहमत भएका छन् ।’

दुई देशले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको काम सुरु हुने संकेतसमेत दिएका छन् ।
भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को एउटा अफसोर क्याम्पस स्थापना गर्न सहमति जनाएको छ । संयुक्त वक्तव्यअनुसार यसले रोजगारी सिर्जना गर्न सहयोग पु¥याउनेछ ।

यसका अतिरिक्त दुवै देशले एकअर्काको मुलुकमा बसोबास गर्ने नागरिकलाई बैंकिङ, दूरसञ्चार तथा अन्य सेवामा सहज पहुँच सुनिश्चित गर्न आपसी सहयोग बढाउनुपर्ने आवश्यकतालाई पनि स्वीकार गरेका छन् । नेपाल लामो समयदेखि भारतीय हवाई क्षेत्रको थप उपयोग गर्न पाउनुपर्ने माग गर्दै आएको छ ।

यसै दिशामा काठमाण्डु–भैरहवा–लखनउ हवाई मार्गलाई दुवैतर्फबाट सञ्चालन गर्न सकिने बनाउने सहमति भएको घोषणामा उल्लेख छ । यद्यपि, यस विषयलाई थप प्राविधिक छलफलको अधीनमा राखिएको छ ।

काठमाण्डुका एक पर्यवेक्षकले यसमा निराशा व्यक्त गर्दै भनेका छन्, ‘यसको अर्थ नेपालका लागि महत्त्वपूर्ण रहेको उक्त विषयमा तत्काल कुनै प्रगति भएको छैन ।’

दुवै देशले जलवायु अनुकूलन क्षमता, कृषि, खेलकुद, अन्तरिक्ष, प्रविधि, पर्यटन र स्वास्थ्यजस्ता क्षेत्रमा गर्न सकिने सहकार्य समेटिएको संयुक्त दृष्टिकोणपत्र (ज्वाइन्ट भिजन) समेत सार्वजनिक गरेका छन् ।

भारतका विदेश सचिवले वार्ताका क्रममा क्रिकेटका विषयमा पनि लामो समय छलफल भएको बताएका छन् ।

कुन-कुन विषयमा पर्याप्त छलफल भएन ?

भारत र नेपालबीच सीमा कहाँबाट सुरु हुन्छ भन्ने विषयमा लामो समयदेखि मतभेद रहँदै आएको छ ।

सन् २०१९ मा भारतले संविधानको धारा ३७० खारेज गर्दै तत्कालीन जम्मु–कश्मीर राज्यलाई जम्मु–कश्मीर र लद्दाख गरी दुई केन्द्रशासित प्रदेशमा विभाजन गरेपछि नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसपछि नेपालले उक्त नक्साप्रति आपत्ति जनाएको थियो। नेपालको दाबीअनुसार भारतले आफ्नो नक्सामा नेपाली भूभागसमेत समेटेको थियो ।

विशेषगरी लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई लिएर दुई देशबीच विवाद रहँदै आएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा यस विषयलाई विशेष चासोका साथ हेरिएको थियो ।
यद्यपि, नेताहरूका सार्वजनिक अभिव्यक्तिमा यो विषयले स्थान पाएन । तर, संयुक्त वक्तव्यले भने यसबारे छलफल भएको संकेत गर्छ ।

संयुक्त वक्तव्यको बुँदा नम्बर १५ मा भनिएको छ, ‘नेताहरूले सीमा स्तम्भको मर्मतसम्भार तथा पुनःस्थापनासम्बन्धी संयुक्त क्षेत्रीय कार्यमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे। साथै, बाँकी रहेका सीमा सम्बन्धी विषयमा काम जारी राख्न दुवै देशका विदेश सचिवलाई निर्देशन दिए ।’

भारतको विदेश मामिलाका जानकार डा. स्मृति पटनायक भन्छिन्, ‘मलाई लाग्दैन कि बालेन शाहले क्षेत्रीय विवादजस्ता विषय उठाउने थिए । कम्तीमा अहिले र यस मञ्चमा त पक्कै पनि होइन । यस्ता विषयको समाधान प्रायः कठिन हुन्छ र यसले तत्कालै नकारात्मक वातावरण सिर्जना गर्न सक्छ ।’

भारतीय सेनामा संशोधित अग्निपथ योजनाअन्तर्गत नेपाली गोर्खाहरूलाई अब भर्ती गरिने हो कि होइन भन्ने प्रश्नमा भारतका विदेश सचिव विक्रम मिस्रीले भने, ‘छलफलमा यो विषय उठेन ।’

नेपाल र भारत एकअर्काबाट के चाहन्छन् ?

नेपाल भारतबाट लगानी चाहन्छ । प्रधानमन्त्री शाहको भ्रमणको एक दिनअघि नेपालका अर्थमन्त्रीले नेपाल–भारत व्यापार गोलमेच बैठकलाई सम्बोधन गरेका थिए । त्यसक्रममा उनले भारतका व्यावसायिक नेतृत्वकर्ता, उद्यमी, उद्योगपति तथा लगानीकर्तासँग छलफल गर्दै नेपालमा लगानी गर्न प्रोत्साहित गरेका थिए ।

आधिकारिक तथ्याङ्कअनुसार व्यापार तथा लगानीका दृष्टिले भारत नेपालको सबैभन्दा ठूलो साझेदार मुलुक हो । आर्थिक वर्ष

२०२५/२६ मा भारत र नेपालबीच वस्तुको व्यापार करिब ९.३८ अर्ब अमेरिकी डलर बराबर थियो । सोही अवधिमा नेपालको कुल वस्तु निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा भारततर्फ गएको थियो ।

नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीको करिब एकतिहाइ हिस्सा भारतबाट आउने गरेको छ । यसले भारतलाई नेपालमा विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत बनाएको छ । नयाँदिल्लीका अनुसार नेपालमा भारतीय लगानीको अनुमानित मूल्य करिब ८० करोड अमेरिकी डलर छ । यसका अतिरिक्त नेपाल आउने पर्यटकमध्ये भारत सबैभन्दा ठूलो स्रोत मुलुक हो ।

काठमाण्डु र चीनबीचको सम्बन्धबारे जानकार भारतका लागि यो भ्रमण आफ्नो ‘छिमेकी पहिलो’ (नेबरहुड फस्र्ट) नीतिलाई थप सुदृढ बनाउने अवसर पनि हो ।

यस नीतिअन्तर्गत भारत आफ्ना छिमेकी मुलुकलाई आवश्यक परेको समयमा सबैभन्दा पहिले सहयोग पुर्‍याउने साझेदार बन्न चाहन्छ ।

सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पमा करिब नौ हजार मानिसको ज्यान गएको थियो । त्यसपछि भारतले नेपालको पुनर्निर्माणका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

भ्रमणको उपलब्धिलाई कसरी हेर्ने ?

भ्रमणको परिणामबारे टिप्पणी गदै परराष्ट्र मामिला जानकार दिनेश भट्टराईले बीबीसीलाई भने, ‘पहिलो दृष्टिमा भन्नुपर्दा भारत आफ्नो सहायता प्याकेजका मामिलामा उदार देखिएको छ । यो भ्रमणमा विवादित विषयभन्दा सहमतिका विषयले प्राथमिकता पाएका छन् । दुई देशबीच विश्वास निर्माणको प्रक्रिया निरन्तर अघि बढ्ने मेरो अपेक्षा छ ।’

उनले थप भने, ‘आगामी दिन र हप्ताहरूमा धेरै कुरा स्पष्ट हुँदै जानेछन् । भारतले घोषणा गरेको सहायता प्याकेज कसरी कार्यान्वयन हुन्छ र काठमाण्डुले त्यसमा कति स्वतन्त्रता पाउँछ भन्ने विषय पनि त्यसै क्रममा प्रस्ट हुनेछ । समग्रमा भने अहिलेको वातावरण सकारात्मक देखिन्छ ।’